तुलसीपुर, मंसिर ९ ।सोमबारदेखि सुरु भएको लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन भदौ २३ र २४ गतेको जेनजी आन्दोलन बारे बिभिन्न प्रदेश साभासदस्यहरुले चर्चा गरे ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरि रहेको नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आन्दोलनको मुख्य उदेश्य आफ्नो पार्टीका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केवल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने षडेन्त्र मात्रै रहेको बताए । चौधरीले त्यो भन्दा अरु स्पष्ट औचित्य नदेखिएको दोषारोपन गरे ।
त्यस्तै नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले जेनजी आन्दोलन जिम्मेवार कार्यशैलीको अभावका कारण भएको चर्चा गरिन ।
उनले अहिले पनि सडकमा त्रासको वातावरण कायमै रहेको भन्दै यो अवस्थालाई सहज बनाउन सबैको योगदानको खाँचो औंल्याइन ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले जेनजी आन्दोलन पछिको परिस्थितिको दलहरुले आत्मसमिक्षा गर्दै सुध्रिन जरुरी रहेको बताए ।
गत भदौ ३१ मा छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो । जेनजी आन्दोलन पछि सोमबार प्रदेशसभाको पहिलो बैठक बसको हो ।
बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराएका थिए । प्रदेश सभाको दोस्रो बैठक मंगलबार बस्ने छ ।
प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरिएका छन् ।
त्यस्तै लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको छ ।