तुलसीपुर, भदौ २२ । भुमे गाउँपालिका –७ रुकुम पुर्वकी भावना बुढाको घरमा बिजुली बल्न थालेको धेरै भयो । तर सानोतिनो समस्या आउँदा पनि समयमै प्राविधिक नहुँदा लामो समयसम्म कुर्नुपर्ने अवस्था सृजना भएको थियो ।
बुढाको परिवारलाई कहिले काही सामान्य समस्या उत्पन्न हुँदा वा विग्रदा पनि महिनौ कुर्नुपर्ने बाध्यता हुन्थ्यो । अहिले इलेक्ट्रिसियनको तालिम लिइरहेकी भावना निकै खुसी छन ।
तालिम लिदै गर्दा उनमा आफ्नो घरको मात्रै होइन अरुको घरको पनि अब बत्ति वाल्न सक्ने आत्मविश्वास उनमा पलाएको छ ।
रोल्पाको थवाङ गाउँपालिका– १ का विशाल विकपनि तालिममा सहभागी हुन पाउँदा खुसी छन ।
स्थानीय बिर वलभद्र माविमा कक्षा १२ मा अध्ययनरत उनले सीप सिकेर आत्मनिर्भर हुन सकिने हुँदा तालिममा सहभागी भएको बताए ।
‘बिकट गाउँघरमा सानो तिनो समस्या आउँदापनि प्राबिधिक जानेका ब्यक्ति खोज्न निकै समस्या हुन्थ्यो,’ उनले भने ‘ अब अरुलाई खोज्नु पर्ने अवस्था रहने छैन म आँफैले त्यो समस्या हल गर्न सक्ने हुने छु ।’
दूर्गममा रहेका बालबालिकालाई लक्षित गरेर टंकप्रसाद आचार्य फाउन्डेशनको सहयोग र ग्रीन फाउन्डेसन नेपालको आयोजनामा भएको १५ दिने आधारभुत वल्डिङ इलेक्ट्रिसियन तालिममा थवाङ आपपासका ३० जना युवाको सहभागिता रहेको ग्रीन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बताए ।
उनले विकट ठाउँका युवाहरुलाई स्वरोजगारसँग जोड्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।
तालिमको प्राविधिक समन्वय तुलसीपुर बहुप्राविधिक शिक्षालयले गरि रहेको छ । शिक्षालयमा इलेक्ट्रिकल अध्ययन गरेका विद्यार्थीले प्रशिक्षण दिएका हुन ।
विद्यार्थीले सिकेको सीपलाई दुरदराजमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको शिक्षालय प्रमुख वसन्त आचार्यले बताए ।
