दाङ, साउन १९ । बिहे गरेको ६ महिनामै आत्महत्या गरेको अवस्थामा कोठा भित्र फेला परेकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १८ बर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा माइती पक्षले आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दा दर्ता गराएका छन् ।
भीमदत्त नगरपालिका – ६ घर भएका सम्झनाका बुवा भोजराज भट्टले सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगेर आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दा दर्ता गराएका हुन ।
सम्झनाका श्रीमान २४ बर्षीय पवन भट्टका विरुद्ध भोजराजले आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दा दायर गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रागर बोहराले जानकारी दिए ।
पवनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाना र पवनले गत फागनुमा मात्रै प्रेम बिवाह गरेका थिए ।
माइती पक्षले सम्झनाको शरिरमा निलडाम तथा घाट चोट देखिएको बताएका छन् । पोष्टमार्टम रिपोर्ट पछि मात्रै त्यसबारे भन्न सजिलो हुने प्रहरीले बताउँदै आएको छ ।
सम्झनाको शव कञ्चनपुरस्थित महाकाली अस्पतालमा राखिएको छ ।
अघिल्लो दिन मात्रै सम्झना इलाका प्रहरी कार्यालय बेलडाँडीमा पुगेकी थिइन । त्यहाँका प्रहरी अधिकारीले पवनलाई सम्झाए पछि उनीहरु घर फर्किएका थिए ।
त्यसको भोलि पल्ट सम्झना झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन ।
