काठमाडौँ,जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ खाएका छन्।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट बनेका दुई मन्त्रीले बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ खाएका हुन्।
मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री दाहालले शपथ खुवाएका हुन्।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
पछिल्लो पटकसहित प्रधानमन्त्री प्रचण्डले ६ महिनामा ११ औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।