दाङ , बैशाख १३ ।
सडकमा साइड लगाइ रोकिराखेको ट्रकमा पछाडि बाट स्कार्पियो ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
अरु तीन जना घाइते छन् ।
कपिलबस्तुमा गएराति ९ बजेतिर हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवा खण्डमा सडकमा साइड लगाइ रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा पछाडि बाट भारतीय नम्बर प्लेट युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो ठोक्किएको थियो । स्कार्पियो बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै थियो ।
त्यो दुर्घटनामा परि स्कार्पियोमा सवार जिल्लाको महाराजगन्ज नगरपालिका – ११ बनगाइका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका– ६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको मृत्यु भएको छ ।
जिल्ला अस्पताल तौलिहवामा पुर्याइ चेकजाँच गर्दा राति १० बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए ।,
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले दुर्घटनाका घाइते मध्य जिल्लाको महाराजगन्ज– ११ का ६५ वर्षीय नन्दप्रसाद दुबेको जिल्ला अस्पताल तौलिहवाको उपचार पछि थप उपचारका लागि सिटी हस्पिटल भैरहवामा लगेर उपचार भइ रहेको जानकारी दिए ।
दुर्घटनाका घाइते मध्य शिवराज– १० का २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज – ११ का २० वर्षीय सुरेश कुर्मी भने उपचार पछि डिस्चार्ज भइ सकेको डिएसपी सिंहले बताए । यो दुर्घटना अनुसन्धान गर्न प्रहरीले स्कार्पियो र ट्रक चालक दुबैलाई नियन्त्रणमा लिएको छ ।
रातिको दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
