दाङ, बैशाख १५ ।
घरभित्र पसेको भन्दै एक जना बालक माथि निर्घात कुटपिट गरेको पाइएपछि रोल्पा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गंगादेव गाउँपालिका – ५ कुइनेटा बस्ने पूर्णबहादुर विकका ११ वर्षीय छोरा माथि घर भित्र प्रबेश गरेको भन्दै वैशाख ११ गते साँझमा निर्घात कुटपिट भएको थियो । उनको दाहिने आँखामा आक्रमण बाट गम्भिर चोट लागेको छ । बालकलाई बचाउन गएका अर्का एक जना माथि पनि त्यसैगरि आक्रमण भएको थियो ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी विरेन्द्र विश्वकर्माले कु्टपिटमा संलग्न तीन जनालाई पक्राउ गरि अनुसन्धान भइ रहेको बताए । तर, पक्राउ परेका ब्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । बालक माथि भएको आक्रमणको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएपछि प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरि घटना अनुसन्धान थालेको हो ।
पीडित पक्षले बालकमाथि भएको कुटपिटको घटना बारे सोमबार प्रहरीमा लिखित रुपमा किटानी जोहरी दिएका थिए ।
पक्राउ परेका ब्यक्तिहरु माथि सोधपुछ तथा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु माथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।