२०८३ बैशाख १५ गते मङ्गलवार

बेलझुण्डी खानेपानीले थप ट्याँङ्की निर्माण गर्ने


तुलसीपुर, वैशाख १५ ।

बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले क्षमता बढाउने भएको छ । संस्थाले मुहानमा पानी पर्याप्त भएर पनि भण्डारण गर्ने क्षमता कम छ । जस्ले गर्दा २४ सै घण्टा पानी वितरण गर्नका लागि पानी ट्याङ्की र पाइप लाइन विस्तार गर्ने योजना बनाइएको छ ।
संस्थाले मगंलबार उपभोक्ता, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रतिनिधिका बीच छलफल गरि त्यस्तो निष्कर्षमा पुगेको हो ।
यो संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६,१७,१८ र १९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको छ ।

ती ठाउँमा थप पानीको ब्यबस्थापन गर्न नयाँ पानी ट्याङ्की निर्माण, सौन्दर्य पार्क निर्माण जस्ता योजना अगाडि बढाउने निर्णय भएको छ ।
संस्थाका अध्यक्ष प्रदीप गौतमले खानेपानी संस्था सेवा मुलक संस्था भएकाले थप संरचना निर्माणका लागि सरकार संग मिलेर काम गर्ने बताए ।
विपन्न उपभोक्ताहरुलाई धारा किस्तामा वितरण गर्ने र ऐलानी जग्गामा बसोबास गर्ने उपभोक्तालाई वडाको सिफारिसका आधारमा धारा वितरण गर्ने अध्यक्ष गौतमले बताए ।
अध्यक्ष गौतमले निबेदन जहिले खुल्ला रहने र त्यो स्वीकृत भएको २४ घण्टाभित्रै धारा जडान गरिने आश्वासन दिए ।
संस्थाले हालसम्म दुई हजार एक सय धारा वितरण गरेको छ । अझै १७ सय धारा वितरण गर्ने सामथ्र्य रहेको संस्थाका सचिव मुकेश वलीले बताए ।
तुलसीपुर – १८ का वडाध्यक्ष माधव वलीले खानेपानी संस्था नाफा मुलक नभइ सेवामुलक भएकाले तीनै तहका सरकारले नाफा र सेवा मुलक संस्थाका बीचमा फरक छुट्याएर सोही अनुरुप बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीले खानेपानीको क्षेत्र विस्तारका साथै क्षमता विस्तारमासमेत ध्यान दिनुपर्ने सझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका तुलसीपुर – १९ वडा कमिटीका सभापति ज्ञानेन्द्र पोख्रेलले खानेपानीलाई संविधानमै मौलिक हककैरुपमा राखेकाले सरकारले निशुल्क रुपमा व्यवस्था गर्नुपर्ने बताए ।
नेपाली काग्रेस – तुलसीपुर १८ सचिव विदुर गौतमले उपभोक्ताहरुलाई खानेपानी वितरण थप प्रभावकारी बनाउन सबैले पहल गर्नुपर्ने बताए ।
जुरपनिया मैनतारा खानेपानी समितिका सचिव राकेश बस्नेतले खानेपानी संस्थाहरु मर्जको नीतिलाई कार्यान्वयनमा लैजान सके पानी वितरण थप प्रभावकारी बन्ने बताए ।
नेपाल रेडक्रस बिजौरी शाखाका सभापति बालकृष्ण रेग्मीले खानेपानी संस्थाले स्वच्छ पानी वितरणका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पाटीका रामबहादुर थापाले सरकारले उपभोक्तालाई निशुल्करुपमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताए । जनता संस्कृत मावि विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण केसीले , भुल्के सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले विपन्न नागरिकलाई निशुल्क रुपमा धारा वितरण गर्नुपर्ने बताए ।
संस्थाले मंगलबारदेखि नै कार्यालयमा पानी परीक्षण सुरु गरेको छ । खानेपानी सुरक्षा समितिका सदस्य सचिव गोकर्ण पौडेलले उपभोक्तालाई स्वच्छ पानी धारासम्म पुर्‍याउनका लागि पानी परीक्षण सुरु गरिएको जानकारी दिए ।
संस्थाका उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *