तुलसीपुर, चैत ५ । प्यूठानबाट दाङमा बिरामी भएका आफन्त भेट्न आउँदै गरेका एक ब्यक्तिको सवारी दुर्घटनामा परि बाटोमै मृत्यु भएको छ । उनका श्रीमती र छोरीको अवस्था गम्भीर छ ।
कुखुरा बोकेको मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदा प्युठानको नौवहिनी गाँउपालिका वडा नं.६ का ३२ वर्षीय राजन केसीको मृत्यु भएको छ ।
दुर्घटनाका घाइते राजनकी श्रीमती २६ वर्षीया सन्ध्या केसी र २ बर्षीया छोरी राष्ट्रियताको अवस्था गम्भीर अवस्थामा घोराहीमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी तथा जिल्ला प्रहरी प्रबक्ता राजन गौतमले यो खबर तयार पर्दासम्म आमा छोरीको होस खुल्न नसकेको जानकारी दिए । उनीहरुको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी छ ।
प्रबक्ता गौतमका अनुसार उनीहरु दाङमा एक जना बिरामी आफन्तलाई भेट्न भनेर घोराही तर्फ आइरहेका थिए । छोरीलाई मोटरसाइकलको बीचमा राखेर मोटरसाइकलमा यात्रारत उनीहरुलाई कुखुरा बोक्ने मिनी ट्रकले ठक्कर दिएको थियो ।
सोमबार बेलुका ६ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले राजनले चलाएको बागमती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नं. ३ कुइरेपानीमा ठक्कर दिएको थियो ।
राजनको उपचारका क्रममा बेलुका साढे ६ बजेतिर मृत्यु भएको थियो ।
