
भालुवाङ, बैशाख १६ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला– लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सडक स्तरोन्नतिको कामको शिलान्यास गरेका हुन ।
यो सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने भएको छ ।
यो प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरण मैत्री बनाउने अपेक्षा गरिन्छ । जस्ले दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने गर्छ ।
आयोजनाअन्तर्गत सडकको दुवै तर्फ सात मिटर चौडा क्यारिज – वे र साढे दुई–दुई मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइको सडक कायम गरिने छ ।
सडक शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण हुने सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरिय निर्माण गर्न आग्रह गरे ।
सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दौै बनाउनुका साथै स्थानीय व्यवसाय, कृर्षी र उद्यममा सकारात्मक प्रभाव पार्ने उनले बताए । आचार्यले १२ ठाउँमा बस बिसौनी निर्माण गर्ने तथा प्रदेश राजधानी लगाएत अन्य केही क्षेत्रमा स्काइ ब्रिज बनाउने बारे निर्माण पक्ष सकारात्मक रहेको बताए ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका साझेदारीको महत्वपूर्ण उदाहरणका रूपमा यस आयोजनालाई लिनुपर्ने बताए । उनले ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको स्पष्ट पारे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशिल बाबु ढकालले एमसीए–नेपालको लगानी र सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको बताए । यो सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालिन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै पारदर्शी र उच्च गुणस्तरसहित कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
सडक निर्माणको जिम्मा पाएको शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले तोकिएको गुणस्तरणमा र निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सडक खण्ड स्तरोन्नतिका लागि सन २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको छ ।
गत पुस ७ गते एमसीए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सक्नु पर्ने छ । निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ बढी ) मा काम सरकारेको छ ।
नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिने छ ।
सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने छ ।
जस्मा बालुवा, गिट्टीलगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभावको असर पनि न्यून हुन्छ । यो प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने विश्वास दिलाइएको छ ।



