
तुलसीपुर, कात्तिक १ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले नेता डाक्टर र डाक्टर नेता बन्न खोज्दा अस्पतालको सेवा सोचे जस्तो राम्रो बन्न नसकेको बताएका छन् ।
सोमबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल निरिक्षण गर्न आएका मन्त्री थारुले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरु डाक्टर बनेर डाक्टरलाई तसाउँदै र कुट्दै हिड्ने तथा डाक्टर नेता बनेर भाषण गर्ने तथा सडकमा बिरोध पर्दशनमा उत्रने जस्ता कार्यहरुले सरकारी अस्पतालको सेवा प्रभावकारी बन्न नसकेको बताएका हुन ।
मन्त्री थारुले जस्को जुन क्षेत्रमा दक्षता हो त्यसले त्यही काम गर्दा बढी प्रभावकारी हुने भन्दै अस्पताल बिकास समितिले अस्पताल बिकास र समन्वयमा ध्यान दिनु पर्ने तथा डाक्टरले बिरामीको उपचार र सेवामा ध्यान दिनु पर्ने बताएका हुन ।

प्रादेशिक अस्पतालको सेवा थप प्रभावकारी बनाउन र सकभर बिरामी बाहिर रिफर गर्नुपर्ने परिस्थितिको अन्त्य गर्ने गरि कार्य गर्न मन्त्री थारुले आग्रह गरे ।
त्यसका लागि कुनै कुराको अभाव वा कमिकमजोरी भए आँफूलाई भन्नपनि मन्त्री थारुले आग्रह गरे । केही समय पहिले मात्रै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेसु डा. बिनोद सिंहमाथि नेकपा एमालेका कार्यकर्ताले कार्यकक्षमै कालोमोसो दलेका थिए । त्यसपछि अस्पतालको सेवा नै बन्द गरेर दोषीलाई कारबाहीको मागगर्दै डाक्टर नर्सहरु सडक आन्दोलनमा उत्रिएका थिए ।
पछिल्लो समय राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टरको रुपमा मात्रै परिचित भएको भन्दै जनस्तरबाट त्यसको ब्यापक आलोचना हुँदै आएको छ । प्राय बिरामीहरु यहाँबाट बाँके रिफर हुने गरेका छन् । बिरामी बाँकेसम्म पु¥याउन एम्बुलेन्सलाई दूई तीन घन्टा समय लाग्ने हुँदा अधिकाँसको बाटोमै मृत्यु हुने गरेको काहाली लाग्दो अवस्था छ । दूर्घटनाका घाइतेहरुको अत्यधिक रक्तश्राबका कारण बीच बाटोमै मृत्यु हुने गरेको छ ।
तर, अस्पताल बिकास समिति र अस्पतालका मेसु भने दरबन्दी अनुसारको बिशषेज्ञ डाक्टर उपलब्ध नहुनु, आवश्यक पूर्वाधार तथा उपकरण नहुनु, सुरक्षाको उचित प्रबन्ध नहुनु जस्ता कारणहरु देखाउँदै तुलसीपुरमा बाहिरका डाक्टरहरु आउन नमान्ने गरेको गुनासो गर्दै आएका छन् ।
