दाङ,मंसिर १ । सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहले कपिलबस्तुवाट बरामद गरिएका भनिएका हतियार आफ्ना नभएको बताएको छ ।
विप्लव समुहका राप्ती व्यूरो इञ्चार्ज समरले आइतवार जारी गरिएको विज्ञप्तिमा ती हतियार प्रहरीकै भएको दाबी गरिएको छ । प्रहरी आफैले हतियार राखेर विप्लवलाई दमन गर्ने षडेन्त्रमा लागेको भन्दै समरले त्यसको विरोध गरेका छन् ।
उनले आफ्ना काला हर्कतहरु ढाकछोप गर्न ओली सरकार नियोजित रुपमा नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको लागि अनेक खालका षडेन्त्र गरिरहेको दोषारोपन गरेका छन् ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, जिल्ला प्रहरी कार्यालय घोराही र ईलाका प्रहरी कार्यालय गढवाको विशेष टोलीले गोप्य सूचनाको आधारमा सीमाना क्षेत्रमा खोज्दै जाँदा कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ बाट ५ थान एसएमजी, त्यसमा प्रयोग हुने १३ थान म्यागजिन र ३९० थान गोली बरामद भएको कुरा शनिवार मात्रै सार्वजनिक गरेको थियो ।
प्रहरीले ती हतियार र गोली विप्लव समुहको भएको दाबीका साथ पत्रकार सम्मेलन गरेकोमा त्यसप्रति ध्यानाकर्षण भएको राप्ती व्यूरो इञ्चार्ज समरले आपत्ति जनाएका छन् ।
विज्ञप्तीमा सरकारी षडेन्त्र अनुरुप नियोजित, कपोकल्पित र भ्रमपूर्ण प्रचार गराइएको हुँदा त्यस्तो षडेन्त्र नगर्न चेतावनी दिइएको छ ।
