काठमाडौँ ,पुस १३ । न्याय परिषद्ले उच्च अदालतमा ४० न्यायाधीश नियुक्त गर्ने भएको छ। अर्को साता न्याय परिषद्को बैठक बसेर यो निर्णय गर्ने तयारी छ। उच्च अदालतमा सबैभन्दा बढी जिल्ला अदालतका न्यायाधीशबाट नियुक्त हुनेछन्।
हालसम्म भएको तयारीअनुसार, जिल्ला अदालतका २४ जना न्यायाधीश उच्चमा नियुक्ति पाउनेछन्। सकेसम्म वरीयतामा अगाडि रहेका न्यायाधीशलाई उच्चमा लैजाने र केही वरीयतामा पछाडि रहे पनि कार्यकुशलता राम्रो भएका न्यायाधीशलाई पनि माथि तानिने न्याय परिषद्का एक सदस्यले बताए।
न्याय सेवाका कर्मचारीबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश बनाउन लागिएको छ। यसमा अदालत र कानुन मन्त्रालयका अधिकृत तथा सरकारी वकिल छन्। कानुन व्यवसायीबाट यसपालि ९ जनाले मौका पाउने भएका छन्। साविकको निर्देशिका मापदण्ड स्थगन गरिएकाले यसपटक बाहिरबाट नियुक्ति पाउनेले अन्तर्वार्ता वा प्रस्तुतीकरणका कुनै प्रक्रिया गुजार्नुपर्ने छैन।
नियुक्ति पाउने सबैको सूची तयार भइसकेको र अन्तिम रुप दिन मात्र बाँकी रहेको छ। पुस १७ गतेपछि जुनसुकै दिन न्याय परिषद्को बैठक बसेर नियुक्तिको निर्णय हुन सक्नेछ। पुस १६ गतेसम्म कानुनमन्त्री धनराज गुरुङले पार्टीका काममा व्यस्त भएकाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी न्याय परिषद्लाई पठाएका छन्।
यसअघि गत आइतबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला भट्टराई पौडेललाई मात्र उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय लिएको थियो।