२०८२ असार ६ गते शनिवार

आज टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा पूर्ण सुनुवाइ हुँदै

काठमाडौं,मंसिर १९ । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबारदेखि पूर्ण सुनुवाइ हुने भएको छ।

सर्वोच्चले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको हो।

न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो।

एकल इजलासले निवेदकहरूले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको ‍हो। गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट परेका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रञ्जन सिंह, जगन्नाथ दुलाल, यज्ञमणि न्यौपानेलगायतले मंसिर १ गते सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

टिकटकमा प्रतिबन्ध लगाएसँगै अभिव्यक्ति स्वतन्त्रमाथि धावा बोलेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *