२०८३ जेष्ठ १४ गते बिहिवार

२४ घण्टाभित्र टिकटक बन्द भएको जानकारी नदिए अनुमतिपत्र खारेज गर्ने प्राधिकरणको चेतावनी

काठमाण्डौ ,मंसिर १४ । नेपाल दूरसञ्चार प्राधिकरणले २४ घण्टाभित्र टिकटक बन्द भएको जानकारी नदिने इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ।

बिहीबार गोरखापत्रमा सार्वजनिक सूचना निकालेर प्राधिकरणले जारी गरेको सेवा प्रदायकहरूको सूचीमा रहेकाहरूले २४ घण्टाभित्र जानकारी गराउन पुनः सचेत गराएको हो।

मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।

त्यस लगत्तै प्राधिकरणले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो।

तर ५५ सेवा प्रदायकले हालसम्म उक्त निर्णय कार्यान्वयन भएरनभएको बारे कुनै पनि जानकारी नगराएको भन्दै प्राधिकरणले २४ घण्टाभित्र निर्णय कार्यान्वयन भएरनभएको विषयमा जानकारी गराउन पुनः निर्देशन दिएको हो।

प्राधिकरणद्वारा जारी सार्वजनिक सूचनामा भनिएको छ, ‘ उक्त सूचीमा उल्लिखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *