नेपालगञ्ज,मंसिर १० । बाँके जिल्लाको नेपालगञ्ज बजारमा रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाइने भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका बजार क्षेत्र भित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबार सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ।
नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो।
अटेर गरी रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ। कालो प्लेट नबनाउँदासम्म ती इ-रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चारपाङ्ग्रे सवारीसाधन जान नदिने निर्णय गरिएको छ। यसैगरी गणेशमान चोकबाट चारबाहिनी चोकतर्फको सडकलाई पनि वान–वे बनाउने निर्णय गरिएको छ।