काठमाडौँ,कात्तिक ५ । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ।
तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो। अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ।
तर सुनचाँदी व्यवसायीहरूले ग्राहकहरूको माग अनुसार सुनका गरगहनाहरू दिन नसकेको व्यापारीहरू बताउँछन्।
उनीहरूले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरू मारमा रहेको बताए।
उनले भने,‘चाडपर्वहरू एकपछि अर्को आए तापनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरू मारमा रहेका छन्।
सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ। सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ।
पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो। अहिले १० केजी सुनमात्रै आयात भइरहेको छ। अहिले मुलुकभर दैनिक ३५ केजी सुनको माग रहेको छ। तर दैनिक १० किलो मात्रै आयात भइरहेको छ।
चाडपर्वमा ग्राहकहरुको मागलाई पूर्ति गर्नको लागि बजारमा सुनको अभाव भएर व्यवसायीहरू मारमा परेका छन्। सरकारले तत्कालै सुन आयातको कोटा बनाउन सकेन भने बजारमा सुनको तस्करी बढ्ने, बजारलाई विकृतितिर लैजाने देखिन्छ।’
सुन नेपालीहरुको धार्मिक परम्परगत रूपमा हजारौंँ वर्षदेखि चल्दै आएको प्रचलन हो। धार्मिक आस्थाअनुसार मानिसहरूको धन प्रतिको लगावका कारण धनको रूपमा सुनचाँदीका विभिन्न सामग्रीहरूको बिक्री गर्ने र विशेष गरेर धन्तेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास छ।
सुन,चाँदीको सामान १० दिन अगाडि अडर गर्ने र धन्तेरसको दिन किन्न आउने गरेका छन्।
धन्तेरसको दिन अन्य वर्षभर हुनेजस्तो भन्दा धेरै सुन चाँदीको कारोबार हुन्छ। सुन चाँदीको गहरगहना किन्ने मानिसहरूको सुन पसलहरूमा भीड लाग्ने गर्छ।
