२०८३ भाद्र १२ गते शुक्रवार

राहदानी विभागमा विद्युतीय राहदानी बनाउनेको घुइँचो,जिल्लाबाटै बनाउन अनुरोध

काठमाण्डौ,फागुन १० । विद्युतीय राहदानी बनाउन आफ्नै जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिन राहदानी विभागले अनुरोध गरेको छ ।

पछिल्लो समय ७७ जिल्लाबाटै विद्युतीय राहदानीका लागि सेवाग्राहीहरू काठमाण्डौ आउँदा दिनमा १२ देखि १३ सय आवेदन स्वीकार गर्दा विभागमा घुइँचो र सेवाग्राहीलाई पनि सास्ती भएको भन्दै विभागले अत्यावश्यक अवस्था नभएमा जिल्लाबाटै राहदानी बनाउन अनुरोध गरेको हो ।

‘अहिले जिल्लाबाट वा नियोगबाटै राहदानीका लागि आवेदन दिँदा पनि एक हप्तादेखि १० दिनमा राहदानी प्रिन्ट भएर गइसक्छ, नियोगबाट हो भने १० देखि १५ दिनमा राहदानी प्रिन्ट भएर पुग्छ’ राहदानी विभागका प्रवक्ता शरदराज अरनले भने‘ तर विभागमा नै आउने धेरै हुँदा दिनहुँ घुइँचो लागिरहेको छ, लाइन लाग्न पर्ने सास्ती खेप्न परेको छ सेवाग्राहीले ।’

बाँकी रहेका देशका ७७ जिल्ला र विदेशस्थित नेपाली नियोगबाट पनि अबको दुईदेखि तीन हप्ता भित्र विद्युतीय राहदानी जारी हुने गरी तयारी अघि बढेको विभागले जनाएको छ ।

अहिले विद्युतीय राहदानीका लागि आवश्यक उपकरण पठाउने र नेटवर्किङको काम भइरहेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित विभागको कार्यालयबाट आवेदन दिँदा पनि मार्चभन्दा अघि समय नपाइने प्रवक्ता अरनले जानकारी दिए ।

आवेदन दिनेहरू धेरै हुँदा मार्च महिनाभन्दा अघिको समय प्याक भइसकेको छ । विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हो ।

तर राहदानी बनाउन खोज्नेले भने नागरिकता हुँदा हुँदै राष्ट्रिय परिचय पत्र अनिवार्य गरिदा यसकै लागि अर्को सास्ती भएको गुनासो गरिरहेका छन् । विभागले भने बायोमेट्रिक डाटा नागरिकतामा नहुने भएकाले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको छ ।

विद्युतीय राहदानीका लागि सबैभन्दा पहिला प्री इनरोलमेन्ट गरेर तोकिएको मिति र समयमा कार्यालयमा उपस्थित हुनपर्छ ।

यसैबिच राहदानी विभागका प्रवक्ता अरनका अनुसार अहिले देशका ५० जिल्लाबाट र विदेशस्थित ६ वटा नेपाली नियोगबाट विद्युतीय राहदानी जारी भइरहेको छ । मलेसिया, साउदी, कतार, यूएई, कुवेत र ओमानमा रहेका नेपालीले त्यहाँ रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानीको लागि आवेदन दिन सक्छन् ।

अहिले विद्युतीय राहदानी झापा, मोरङ, सुनसरी, तेह्रथुम, धरान, उदयपुर, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, गोर्खा, कास्की, नवलपुर, परासी, रुपन्देही, बुटवल, कपिलवस्तु, गुल्मी र सुर्खेतबाट जारी भइरहेको छ ।

यस्तै, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप, सिराहा, म्याग्दी, स्याङ्जा, वालिङ, लेखनाथ, बागलुङ, पर्वत, पाल्पा, हुवास, बाँके, दाङ, तुलसीपुर, लमही, लहान, यधुकुवा, गौशाला, हरिवन र कास्कीको लेखनाथबाट पनि विद्युतीय राहदानी बनाउन सकिन्छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *