काठमाडौं,माघ ५ । देशभर कोरोना संक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतमा बुधबारदेखि अत्यन्त जरुरी प्रकृतिका मुद्धाहरुको मात्रै सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले आजदेखि ६ प्रकारका मुद्धा मात्रै हेर्ने जनाएको छ ।
जसअन्तर्गत् बन्दीप्रत्यक्षीकरण, कोरोना महामारीसँगसम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट, जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदन रहेका छन् ।
मंगलबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माघ ५ गतेदेखि माघ १८ गतेसम्म सर्वोच्चले नियमित सेवा कटौती गर्ने निर्णय गरेको थियो ।
सर्वोच्चका अनुसार मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर पनि सुनुवाइ हुनेछ ।
हेर्दाहेर्दै, निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ र थुनुवा भएका मुद्दाको सुनुवाइ पनि हुनेछ ।