काठमाडौं,पुस २८ ।नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।
बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा पारेको हो।
अन्तर्राष्ट्रिय हवाई यातायात संघ ९आईएटीए०को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो।
उक्त सूचीअनुसार नेपालको पासपोर्ट विश्वको सातौं सबैभन्दा कमजोर पासपोर्टको रुपमा देखिएको छ।
नेपालको पासपोर्टबाट ३७ देशमा मात्रै यात्रा गर्दा अनअराइभल भिसा उपलब्ध हुन्छ।
सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ। अफगानिस्तानको पासपोर्टबाट २६ ओटा मुलुकमा अनअराइभल भिसा वा भिसा फ्री व्यवस्था छ।
सबैभन्दा कमजोर पासपोर्टको दोस्रो स्थानमा इराक र तेस्रो स्थानमा सिरिया छ। त्यस्तै चौथोमा पाकिस्तान, पाँचौँमा यमन, छैटौंमा सोमालिया छ। सातौं स्थानमा नेपालसँगै प्यालेस्टाइन टेरिटोरिज पनि छ।
सूचीअनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको पासपोर्टभन्दा पनि कमजोर देखिएको छ। उत्तर कोरियाको पासपोर्टबाट विश्वका ३९ देशमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ।
सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरका छन्। यी दुई मुलुकको पासपोर्टबाट विश्वका १९२ मुलुकको यात्रा अगाडि भिसा लगाइरहनु पर्दैन।
सूचीको दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया छन्। यी दुई मुलुकबाट विश्वका १९० मुलुकमा यात्रा गर्दा अगाडि नै भिसा लगाउनुपर्ने आवश्यकता हुँदैन।
सन् २००६ देखि हेन्ली एण्ड पार्टनर्स कम्पनीले निरन्तर विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ।