२०८१ बैशाख ८ गते शनिवार

अभिभावकको उचित पालनपोषण गर्ने छोरा बुहारीलाई सम्मान


ओमप्रकाश गुप्ता,
दाङ,माघ ९ । दाङको राप्ती गाउँपालिकाले बुवा आमाको राम्रो रेखदेख र पालनपोषण गर्ने छोरा बुहारीको खोजी गरेर सम्मान गरेको छ ।महिला तथा बालबालिका शाखाले बुधबार गाउँपालिका भित्रका ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्नेे छोराबुहारीलाई सम्मान गरेको हो ।

‘असल संरक्षणकर्ता’ का रूपमा ३५ जना छोरा बुहारीलाई नगद १ हजार ५ सय ३० रूपैंयासहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । छोरा बुहारीमा कर्तव्यबोध गराउन तथा जेष्ट नागरिकमा आत्मबल बढोस भनेर सम्मान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख जीवनकुमारी जिसीले जानकारी दिइन ।

‘सम्मानले अग्रजको ख्याल गरौं भन्ने अभियान चल्ने विश्वास गर्न सकिन्छ,’ जिसीले भनिन्,–‘सहर पस्ने छोरा बुहारीलाई गाउँ फर्काउन अभियानले झकझक्यावस भन्ने चाहाना हो ।’ राप्ती गाउँपालिका ५ सिसहनियाँकी श्यामा रावत आफुलाई स्थानीय सरकारले बोलाएर सम्मानित गरेकोमा प्रफुल्ल थिइन ।‘मैले जीवनमा सासु–ससुरा पालेर सम्मान पाइन्छ भनेर कहिलै कल्पनापनि गरिन, यो सबैका लागि कतव्र्य बन्नुपर्छ,’ रावतले भनिन् ।

उनले आफ्नी ८० वर्षीया सासुलाई आफ्नै आमा जस्तै ठान्ने गरेको बताइन । ८२ बर्षीय हजुर बुवालाई राम्रो संग पालन पोषण गर्दै आएका भनेर गाउँपालिले सम्मान गरेपछि वडा नं. २ कठाहाका अनुप चौधरीले सम्मानले प्रेरणा थपेको बताए । ‘मैले मेरो दायित्व र कतव्र्य मात्रै पुरा गरेको हुँ,’ चौधरीले भने ‘आज मैले हजुरबुवालाई नपाले भोलि मलाई मेरो छोरा र नातिले पनि पाल्दैनन्।’ ९६ वर्षीय बुवा र ८० वर्षीय आमालाई असल छोराको भूमिका निर्वाह गरेर पालन पोषण गरेको भन्दै वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी लगाएत ३५ जना छोरा बुहारीलाई कार्यक्रममा सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *