दाङ , भदौ २५ ।
सल्यानका तत्कालिन प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय लुहामका प्रहरी प्रमुख छानविनमा तानिएका छन् ।
तत्कालिन प्रहरी प्रमुख डिएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालिन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ छानबिनमा तानिएका हुन ।
उनीहरु माथि नक्कली चालक खडा गरि दोषीलाई उन्मुक्ति दिएको र निर्दोषलाई जेलमा कोचेको आरोप लागेको छ ।
आर्थिक प्रलोभनमा नक्क्mली चालक खडा गरी मुद्दा चलाइएको आरोप पछि छानबिन समिति नै गठन भएको छ ।
राप्ती राजमार्ग अन्तगर्त जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित चोर खोलामा गत बर्ष असोज १२ गते लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
सोही दुर्घटनामा प्रहरीको मिलेमतोमा नक्कली चालक खडा गरेको आरोप दुई प्रहरी अधिकारी माथि लागेको छ ।
सवारी चालक अनुमति पत्र नभएका वास्तविक चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका – ७ का २७ बर्षीय देवबहादुर बिकलाई जोगाएर घटना हुँदा गाडी नचलाएका कपुरकोट–३ डाँडागाउँका ३८ वर्र्षीय कर्णबहादुर खड्कालाई ‘नक्कली चालक’ खडा गरिएको तत्कालिन प्रहरी अधिकारी माथि आरोप छ । हाल खड्का पूर्पक्षका लागि थुनामा छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी जयराज सापकोटाले तत्कालीन डिएसपी केसी, इन्स्पेक्टर गुरुङ, सवारी धनी बसन्त केसी यातायात व्यवसायी न्युटन श्रेष्ठलगायतको मिलेमतोमा खड्कालाई पैंशाको प्रलोभन पारी थुनामा पठाइएको तथ्य खुलेको बताए ।
प्रहरी हेडक्वाटरमा उजुरी परेपछि कर्णाली प्रदेश अन्तर्गतको विशेष सुरक्षा गण बाँके नेपालगंजका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । यो समितिमा प्रहरी निरीक्षक बजिरसिंह विष्ट र रेवन्त सेनलगायत छन् । समितिले कारागारमा रहेका खड्काको समेत बयान लिएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी केसीको बयान समितिले लिएको छ । तत्कालीन इन्स्पेक्टर गुरुङलाई पनि झिकाएर बयान लिने तयारीमा समिति छ ।
समितिलाई १५ दिनको समय दिइएको सापकोटाले बताए ।
डिआइजी सापकोटाका अनुसार छानविन समितिले आरोपीहरु संग वयान लिने क्रम जारी छ ।
डिआइजी सापकोटाका अनुसार नक्कली चालकले आठ लाख रुपैयाँ लिने सहमति हुनुका साथै मासिक ५ हजार तलब पनि बुझ्ने सर्तमा प्रहरीसमेतको मिलेमतोमा बदमासी भएको देखिएको बताए । स्रोतका अनुसार झन्डै ४ लाख रकम नक्कली चालक खड्काले बुझिसकेका खुलेको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको गाडी दुर्घटनापछि चालक फरार भएका थिए ।
मृतकका आफन्त भद्रबहादुर केसीले असोज २० गते इलाका प्रहरी कार्यालय लुहाममा चालकविरुद्ध जाहेरी दिएपछि असोज २४ गते चालक पक्राउ परेका थिए । पछि वास्तविक चालकलाई सहचालकका रूपमा देखाएर खड्कालाई चालक बनाइएको आरोप छ । खड्कालाई असोज २९ गते पक्राउ गरी मुद्दा चलाइएको थियो ।
हाल पूर्पक्षका लागि थुनामा रहेका खड्कालाई २२ दिनभित्र जेलबाट निकाल्ने आश्वासन दिइएको थियो । तर अदालतले उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेपछि उनी आत्तिएका हुन । जिल्ला अदालत सल्यानका न्यायाधीश प्रर्हादकुमार योगीको इजलासले २०८२ माघ ७ गते उक्त फैसला गरेको हो ।
श्रीमती गर्भवती भएकाले आर्थिक समस्यामा रहेका उनी रकम र छिट्टै छुट्ने आश्वासनमा नक्कली चालक बन्न तयार भएको स्रोत बताउँछ । २०८२ मंसिर २२ गते उनकी श्रीमती बिमला केसीले काठमाडौंमा छोरी जन्माइन ।
खड्का ११ महिनादेखि सल्यान कारागारमा छन । आफूले गाडी धनीलाई नचिनेको र दुर्घटनामा आफ्नो कुनै संलग्नता नरहेको खड्काले समिति समक्ष बयान गरेका छन् ।
डिआईजी सापकोटाका अनुसार यातायात व्यवसायी न्यूटन श्रेष्ठको खातामा त्यो समय ९ लाख रुपैयाँ पठाएको देखिएको छ ।
यो सेटिङ मिलाउने मुख्य भूमिकामा उनैले गरेको अनुसन्धानमा खुलेको छ ।
