काठमाडौं,असोज १८ । संघीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले विद्युत विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने, सभामुखले पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, राष्ट्रियसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।