काठमाडौं, भदौ १३ । अर्थमन्त्री डा.प्रकाशरण महतले थिलथिलिएको अर्थतन्त्रलाई विस्तारै सुधारतर्फ ल्याएका छन् । उनको कामलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रफुल्लित छन् । पार्टी सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा। महतको कार्यशैली मिल्दोजुल्दो छ ।
सभापति देउवाझैं उनी पनि कम बोल्छन् । महतले पार्टी, संसदीय मोर्चा र सरकारको मोर्चामा जहिल्यैपनि सकारात्मक छाप छोडेका छन् । उनको खुबी र क्षमता देखेरै सभापति देउवाले उनलाई यसपटक अर्थमन्त्रालयको नेतृत्वमा पुर्याएका हुन् ।
कोरोनापछि नेपालको अर्थतन्त्र संकटग्रस्त थियो । विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको छ । यसको लागि मन्त्री महतले नै सकारात्मक पहलकदमी चालेका हुन् । मन्त्री महत स्वयमले पनि आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको कुरा सार्वजनिक रुपमै बताउँदै आएका छन् ।
उनी अर्थमन्त्रालयको नेतृत्वमा आएसँगै निजी क्षेत्रपनि उत्साही थियो । यसअघि उनले उर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्दापनि राम्रो छाप छोडेका थिए । उनी निजी क्षेत्रलाई पनि सँगसँगै लिएर जाने नेताको रुपमा परिचित छन् । महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको बताए ।
अर्थतन्त्र चलायमान बनाउन राज्य संयन्त्रको साथसँथै नागरिक समाज र सबै सरोकारवाला निकायबीच सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक रहेको उनको भनाई छ । उनले राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा गम्भीर पहलकदमी लिएका छन् । अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोतर्फउन्मुख रहेको अर्थविद्हरुको दाबी छ ।
महतले देशमा लगानीमैत्री वातावरण निर्माणका लागि पनि ठोस कदम चालेका छन् । विदेशमा रहेका गैरआवासीय नेपालीहरुसँग उनको निरन्तर अन्तरक्रिया चलिरहेको छ । डा.महतकै नेतृत्वमा अहिले मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु भएको छ ।