२०८३ बैशाख १५ गते मङ्गलवार

सिंहदरबारमा सभामुख घिमिरे र शीर्ष नेताबीच छलफल सुरु

काठमाडौँ,असार १९ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ।

सभामुख घिमिरेले मंगलबार बिहान केहीबेर अगाडि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल सुरु गरेका हुन्।

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी भएका छन्।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक(पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गरेका हुन्।

गत वैशाख १५ गते प्रतिनिधिसभाका दशवटा विषयगत समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन। सभापति चयन हुन नसक्दा समितिमा पुगेका विधेयकमाथिको कारबाही अघि बढ्न सकेको छैन।

साथै समितिले सरकारका कामकारबाहीलाई निगरानी गर्ने र आवश्यक निर्देशन दिने काम पनि प्रभावकारी रूपमा हुन सकेको छैन।

दशवटा विषयगत समिति र दुईवटा संयुक्त समिति हाल ज्येष्ठ सदस्यको सभापतित्वमा सञ्चालन भइरहेका छन्।

गत वर्षको पुसदेखि प्रतिनिधिसभाको बैठक बस्न सुरु भए पनि गत जेठ २ गतेदेखि बल्ल विषयगत समितिको बैठक बस्न थालेको थियो।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *