काठमाडौं,बैशाख २५ । प्रतिनिधि सभाको आज ९सोमवार० को बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गरिनुपर्ने माग राखेका छन् ।
सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।
‘जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्’, सांसद केसीले भने, ‘यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।’
सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्त्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररूपमा लिनुपर्ने बताए ।
यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए ।
सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररूपमा छानबिन गर्न आवश्यक रहेको बताए ।