२०८१ साउन ६ गते आइतवार

कारागारबाटै निर्वाचन लड्दै शर्मा

नेपालगन्ज, कात्तिक २२ । बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै छिन।

उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उनले कारागारबाटै निर्वाचन लड्दै छिन ।

बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उनलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरेहेको उनका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बदरको माग गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गरेकी छिन ।

थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दाको सुनुवाइ हुन भने बाँकी छ । उता, मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका निर्वाचन अधिकृत मुनानन्द अधिकारीले दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिए ।

उम्मेदवार शर्माको घर नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ मा पर्छ भने वडा नम्बर १६ मा उनको माइतीघर छ ।

शर्माले छोरीको जन्म दर्तामा आफैँले सच्याएर उमेर घटाएको पाएपछि उजुरी परेकोले पक्राउ गरेर अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *