काठमाण्डौ ,कात्तिक ४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो चुनावलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तासमक्ष आग्रह गरेका छन ।
शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए ।
उनले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु गरिरहेको बताए ।
उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे । अध्यक्ष दाहालले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको बताए । उनले आउँदो चुनावमा देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताए ।
अध्यक्ष दाहालले आउँदो चुनावमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले गठबन्धन विरोधी विभिन्न प्रचार भएको भन्दै गठबन्धन यसपटक मात्रै भएको झैं नबुझ्न पनि आग्रह गरे ।
अध्यक्ष दाहालले काठमाण्डौ क्षेत्र नम्बर ७ की गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई लगायतका युवा नेतृत्त्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने विश्वास व्यक्त गरे ।