२०८३ भाद्र १० गते बुधवार

संसद् बैठक नबस्दा अलमलमा सांसद

काठमाडौं,माघ ४ । संघीय संसद्का दुवै सदनको बैठक केही दिनदेखि बस्न सकेको छैन। संसदीय समिति पनि प्रभावकारी देखिँदैनन्।

यसरी संसद् र त्यसका अंग प्रभावकारी नहुँदा सांसद पनि अलमलमा परेका छन्। दुईचारजना सांसदलाई बैठक नबस्दा कुनै असर नपरे पनि धेरै सांसदले अलमलमा परेको भन्दै गुनासो गर्ने गरेको संसद् सचिवालय स्रोत बताउँछ।

संसदीय समितिको बैठक पनि निरन्तर नबस्ने, संसद् बैठक पनि नचल्ने अवस्थाले सांसदको दिन संसद्बाहिर बित्ने गरेको छ। कतिपय सांसद सिंहदरबारतिर मन्त्रालय धाउँदै गरेको अवस्थामा भेटिन्छन् भने कतिपय सांसद जिल्लातिर गएको पाइएको छ।

पछिल्लो पटक संसद् बैठक कोरोनाका कारण स्थगित भएको संसद सचिवालयले सूचना जारी गरे पनि पटकपटक संसद् बैठक स्थगित हुँदा धेरै सांसद के कारणले स्थगित भयो भन्ने विषयमा अनभिज्ञ देखिएका छन्।

संसद्को बैठक स्थगित भइराखे पनि संसदीय समितिलाई सक्रिय बनाउने भूमिका सांसदको हो तर यसतर्फ पनि उनीहरूले सक्रियता देखाएका छैनन्।

सोमबार बोलाइएको संसद् बैठक प्रतिनिधिसभातर्फ माघ १६ र राष्ट्रियसभातर्फ अनिश्चित कालका लागि स्थगित भएपछि कतिपय सांसद जिल्लातिर लागेका छन्। जिल्लातिर रहेका सांसद सोमबार संसद् बैठक भनेर काठमाडौं आइपुगेका थिए। उनीहरू पनि फेरि जिल्ला फर्केको पाइएको छ।

सांसद जिल्लातिर लागेपछि संसदीय समिति बैठक बस्नुपरेमा अब कोरम पुर्‍याउन धौधौ पर्ने देखिन्छ। सार्वजनिक लेखा समितिको केही दिनअघि बसेको बैठकमा उपस्थिति निकै कम थियो। पछिल्लो पटक २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको नियमका कारण संसदीय समितिको बैठक बोलाउने–नबोलाउने विषयमा पनि अन्योल भएको छ।

अघिल्ला वर्षहरुमा संसद्मा भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने गरिएको भए पनि यसपटक कसरी गर्ने भन्ने निर्णय भइनसकेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। कोरोनाको चरम विन्दुमा पुग्ने बेलासम्म संसदीय समतिका काम रोक्नेतर्फ कुरा भइरहेको पनि उनले बताए।

विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का यति बेला कोभिड संक्रमणका कारण अस्पतालमा छिन्। अन्य सांसदलाई पनि क्रमिक रुपमा कोरोना संक्रमण हुन थालेकाले दुई सातासम्म समितिका बैठक बस्ने सम्भावना निकै कम देखिएको छ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *