स्वाव संकलन प्रक्रियाः
शुक्रवार दिउँसो स्वासप्रश्वासको समस्यासंगै कोरोना भाइरसको संक्रमणसंग मिल्ने लक्षण देखिएपछि दंगिशरण गाउँपालिकाको एउटा निर्माण कम्पनीको साइटमा कामगर्ने एक जना इन्जिनियर स्वास्थ्य परीक्षणका लागि घोराहीको संगम पोलिक्लिनिकमा आए ।
त्यहां चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरीसकेपनि पिसिआर पनि परीक्षण गराउन सल्लाह दिए । यति सल्लाह दिंदा दिउसोको ४ बजिसकेको थियो ।ती विरामी शुक्रवार घोराहीमा एक होटलमा बास बसे । भोलिपल्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गराउन पुगे । शनिवार त्यँहा स्वाव परीक्षाण नहुने बताइयो ।
उनी फेरी अटो लिएर चौघेरामा रहेको नेश्नल प्याथ ल्यावको स्वाव शंकलन केन्द्रमा पुगे । लक्षण देखिएका धेरै व्यक्तिहरु संगै उनी लाइनमा बसे । ढिलो गरी स्वाव दिएर अटोमै फर्किए ।
स्वाव परीक्षणको रिपोर्ट भोलिपल्ट मात्र आउने थियो । उनको रिपोर्ट यदी पोजेटिभ आयो भने परीक्षणको प्रतिवेदन आउनु अघि उनी बसेको होटल, उनले चिया पिएको चिया पशल, उनीसंगै अटोमा बसेका व्यक्तिहरु वा उनी घरमै पुगे भनेपनि त्यँहा परीवार संगको हेलमेल । सवै क्षेत्र खतरै खतरा…। तर सरोकारवालाको ध्यान यस्ता कुराहरुमा पटक्कै जान सकेको छैन ।
‘मेरो निजी कार थिएन । स्वाव परीक्षणमा घोराही सम्म पुग्नका लागि एउटा निजी गाडी भाडामा लिएं । किनकि तुलसीपुरमा स्वाव परीक्षणको व्यवस्था छैन’, मेरो रिपोर्ट पोजेटिभ आयो भने त्यो गाडिमा मैले छाडेलगत्तै बस्ने व्यक्तिलाई कोरोना नसर्ला र?’
शनिवार स्वाव परीक्षणका लागि घोराहीको चौघेरा आइपुगेका अर्का व्यक्तिले नाम गोप्य राख्न आग्रह गर्दै त्यसो भनेका हुन ।
उनले भाडामा लिएको गाडी यदी फूल्ली सेनेटाईज गरिएन भने त्यहां पनि खतरा..। चौघेरा स्वाव संकलन केन्द्रमा उनी पुग्दा त्यहां स्वाव परीक्षणको अधैर्य प्रतिक्षामा चौर भरी लडेका लक्षण सहितका संभावित संक्रमितहरुको यात्रा विवरण यस्तै थियो । उनीहरको कुरा सुन्दा त्यो कम्ता खतरा मुक्त थिएन ।
होम आइशोलेशनः
हो परीक्षणको रिपोर्ट पोजेटिभ आइसकेपछि जो कोहिको पनि आत्मवल घट्नु स्वाभाविक हो । सकेसम्म चाँडो अस्पताल पुगेर अक्सिजनको जोहो गर्न पाए बचिन्छ कि ? भन्ने चाहना सवैलाई रहन्छ । तर, अस्पतालमा बेड नपाएर तुलसीपुर उपमहानगरपालिकाकै कम्तिमा आधा दर्जन संक्रमितहरुले वेलझुण्डी कोरोना विशेष अस्पतालमा वेटिङ लिष्टमा नाम टिपाइसकेका छन् ।
कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले पनि यो पुष्टि गरे । वेड खाली नभएको त करीव दुई साता पुग्यो । केहि क्षण त विरामीलाई अस्पतालमा वेड नपाएर वरण्डामा सुताएरै पनि उपचार गर्नु परेको थियो । अस्पतालमा उपचार नपाउंदा सम्मको होम आईशोलेशनको मापदण्ड साँच्चै सरकारले तोकेको मापदण्डको हुन सक् छ र ?
किनकि हाम्रा अधिकांश घरमा एउटा मात्रै सौचालय हुन्छ । कतिपय संक्रमितलाई त सुत्नका लागि भिन्नै कोठा समेत उपलव्ध हुने अवस्था छैन ।
संक्रमितसंग परीवारले गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना भएको छैन । त्यहाँ पनि उत्तिकै खतरा छ । संक्रमित व्यक्ति र उनका परिवारको खानपान, सौचालयको प्रयोग तथा सरसफाईका कारण होम आइशोलेशन जोखिम युक्त छन् । संक्रमितका घर परीवारका सदस्यहरु त दैनिकी चलाउन घरवाहिर टोल छिमेकमा घुमफिर त गर्नै पर्यो नी ! त्यसैले होम आइशोलेशन पनि उत्तिकै खतरा…।
कोरोना विशेष अस्पतालः
अस्पताल पनि किन खतरा? हो तीन दिन वितेको छैन । विरामी अस्पताल पुग्दा वेड खाली थिएन । अस्पताल व्यवस्थापनले वेड व्यवस्थापन गरुञ्जेल ती विरामीलाई वरण्डामै राख्न बाध्य भयो । धन्न अक्सिजन नलिए नबांच्ने अवस्था थिएन ती विरामीको ।
कोरोना भाईरसका लक्षण देखिएका विरामीलाई निजी अस्पतालहरुले स्वाव परीक्षण गराएर वेलझुण्डीमा उपचारका लागि जान सल्लाह दिन्छन् । तर, कतिपय विरामी त लक्षण देखिनासाथ हतारोमा कोरोनै हो, भनेर वेलझुण्डी पनि पुगेका हुन्छन् ।
उनीहरुलाई त्यो वेला मात्र भर्ना लिइन्छ, जुनवेला उनीहरुको स्वाव परीक्षणको रिपोर्ट प्राप्त हुन्छ । तर, रिपोर्ट ल्याउने चक्करमा कम्तिमा दुई दिन वित्छ । यदी दुई दिनको बीचमा उपचारनै नपाएको अवस्थामा त्यो विरामी सुरक्षित होला र ? यहाँपनि खतरा …
अर्को कुरा वेलभबेलझुण्डीस्थित कोरोना अस्पतालमा पहिलो तल्लामा विरामी राखेर भर्ना गर्ने भनेको २५ संक्रमितका लागि हो । जसो तसो स्टोर समेत खाली गरेर शनिवार सम्म ४२ वटा वेड व्यवस्थापन गरी त्यत्तिकै संख्यामा विरामीहरु भर्ना गरिएको छ ।
तर धेरै विरामी सिकिस्त भए भने न त्यहाँ प्रयाप्त आइसियु वेड छन्, न त्यहाँ जडान भएका भेण्टिलेटर सञ्चालनमा आएका छन् । न त अक्सिजन स्टक छ । अहिले नै अक्सिजनको अभाव देखिएको अस्पतालले बताइसकेको छ । अस्पतालका व्यवस्थापक दोार्ण वली भन्छन् ‘कम्तिमा ५ सय सिलिण्डर अक्सिजन स्टक भएमात्रै यहाँका विरामीलाई उपचारमा सहजता हुन्छ । तर यहाँ त स्टकमा ५८ वटा शिलिण्डर मात्रै छन् ।
वलीका अनुसार शुक्रवार एक दिनमा मात्रै ९९ सिलिण्डर सकिए । धन्न नेपालगञ्जबाट समयमै अक्सिजन आइपुगेपछि अक्सिजनको अभाव हुन पाएन । कोरोनाका विरामीलाई अत्यावस्यक पर्ने अक्सिजन पनि स्टक हुन नसक्नु खतरा होइन र ? व्यवस्थापक वलीकै अभिव्यक्ति हो यो ।
त्यसो त पहिलो चरणको संक्रमणकै वेला प्रदेश सरकारले १ सय २८ जना स्वास्थ्यकर्मी कर्मचारीको दरवन्दी निर्धारणगरी व्यवस्थापन समेत गरेको थियो । तर, ती कर्मचारीलाई फेरि अन्तै पठाइयो । आवस्यक श्वास्थ्यकर्मी÷कर्मचारी पठाउन सरकारले कुनै पहल गरेको छैन । वली भन्छन् ‘स्पेस, अक्सिजन र मेनपावरको समस्याले अस्पताल आफै पीडित बनेको छ । ७ जना चिकित्सक र १८ जना स्टाफनर्सले सेवा दिइरहेका छन् । एक जनाले दैनिक १८ घण्टा उपचारसेवा दिनु परिरहेको छ ।
यसो गरे खतरा टार्न सहज हुन्थ्यो …
कोरोना भाइरसको संक्रमण सुरु भएको एक बर्ष सम्म पनि दाङले स्थायी रुपमा कोरोना विशेष अस्पताल पाउन सकेको छैन । यसमा तीनै तहका सरकारले कुनै सम्वेदनशिलता नदेखाएको नागरीकहरुले गुनासो गर्दै आएका छन् ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउपालिका कसैले पनि जिल्लामा एकीकृत रुपमा कोरोना अस्पताल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारमा अर्थपुर्ण पहल गर्न नसक्दा अहिले अस्थायी कोरोना अस्पतालमा व्यवस्थापन पक्ष र विद्यार्थीका बीच विवाद उत्पन्न भइहेको छ ।
अस्पताल निर्माण गर्न नसकेपनि विद्यार्थीलाई क्याम्पस भवन त बनाइदिन सकिन्थ्यो, होला नि ? तर यहाँ सरकार चुकेको छ ।
अक्सिजन प्लान्ट निर्माणका लागि यस अघि निजी क्षेत्रबाट समेत पहल भएको थियो । तर त्यो असफल भइरहंदा स्थानीय सरकारका तर्फबाट स्थानीय स्तरमै अक्सिजन उत्पादनमा कुनै पहल हुन सकेको छैन ।
‘इच्छाशक्ति भएको भए जिल्लाका दशवटै पालिकाले एक एक वटा अक्सिजन प्लान्ट निर्माण गर्न सक्थे, तर यहां दैनिक सयौं सिलिण्डर अक्सिजन बाहिरबाट आयात गरिदै आएको छ’,–यो भनाई कोरोना विशेष अस्पतालकै व्यवस्थापक दोर्ण वलीको हो ।
स्वाव परीक्षण स्थानीय पालिकाको शकसको अवस्था थिएन । यस अघि पनि समुदायस्तरमै पुगेर स्वाव संकलन गरेर संबन्धित व्यक्तिलाई रिपोर्ट स्थानीय पालिकाहरुले उपलव्ध गराउंदै आएका थिए ।
हरेक पालिकाले स्वाव संकलन गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र नभएर बुटवल र नेपालगन्जमा लगेर पनि स्वाव परीक्षण गराएर संक्रमण फैलने अवस्थालाई न्यूनिकरण गरेका थिए । तर अहिले स्वाव संकलन र परीक्षणमै पनि स्थानीय पालिकाहरुले आफ्ना स्वास्थ्य इकाइहरुलाई परिचालन गर्न नसक्नु दुर्भाग्यपुर्ण अवस्था हो ।
अर्को कुरा होम आइशोलेशनको निगमन र अनुगमन त गर्न सकिन्थ्यो नी । तर, त्यो पनि भएको छैन । जसले गर्दा चारैतिर खतरै खतरा निम्त्याएको छ ।