
काठमान्डौं, साउन ११ । नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ। आइसिसी टी – २० विश्वकप एसिया छनोट प्रतियोगितामा शनिवार नेपालले कुवेतलाई हराएको हो । शनिबार कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पार र्गयो।
नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। ओपनिङमा आएका पारसले ६८ रन जोडे। यसअघि मलेसियाविरुद्धको खेल चोटका कारण गुमाएका पारस उत्कष्ट लयमा देखिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का हिर्काए । पारसको यो टी–२० अन्तराष्ट्रिय खेलमा यो तेस्रो अर्धशतक हो ।
त्यसअघि पारसका ओपनिङ पार्टनर ज्ञानेन्द्र मल्लले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन जोडेका थिए । दीपेन्द्रसिंह ऐरी भने १ रनमै आउट हुन पुगे । शरद भेषवाकरले नटआउट ३८ रन जोडे भने रोहितकुमार पौडेलले नटआउट ६ रन जोडे। शरदले ३० बलमा ४ चौका र १ छक्का हिर्काए।
उता कुवेतका लागि कप्तान मोहमद कासिफले सबैभन्दा बढी नटआउट ४९ रन जोड। अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए।
बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए। करण केसी २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे।
जितसँगै नेपाल विश्व छनोट नजिक पुगेको छ । तर कुवेत भने त्यो अवसरवाट आउट भएको छ । यसअघि कतार र मलेसिया पनि आउट भइसकेका छन् ।
अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ। जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ। अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक रहेको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४ १ रन जोडेको थियो ।