तुलसीपुर, फागुन २० । बुधबार मध्यान्ह १२ बज्दै गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित प्राथमिक बिद्यालय राना गाउँ मतदान केन्द्रमा गुलाबी रंङका मतपेटीका पनि राखि सकिएका थिए ।
मतदान गराउनका लागि खटिएका कर्मचारी, दलका प्रतिनिधिहरु लागि बस्नका लागि बेन्च र कुर्सीहरु मिलाएर ठाउँ ठाउँमा राखिएका थिए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि यहाँ सम्पूर्ण तयारी पुरा भइ सकेको देखिन्थ्यो । यस्तो लाग्थ्यो, अब यहाँ मतदाताको मात्रै प्रतिक्षा भइ रहेको थियो ।
यो मतदान केन्द्रमा महिला, पुरुष र अशक्त ब्यक्तिहरुका लागि अलग–अलग लाइन तयार भइ सकेको छ ।
स्थानीय स्तरमा उपलब्ध बाँसका खाँबाहरु गाडेर डोरी टाँग्ने कामपनि लगभग पुरा भइ सकेको देखिन्थ्यो । मतदान ब्यबस्थित र सुरक्षित बनाउने उदेश्यले राजनीतिक दलका स्थानीय प्रतिनिधि, निर्वाचन गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मीले मिलेर अन्तिम तयारीको काम पुरा गर्न तल्लिन थिए ।
प्राबि राना गाउँ (ख) मतदान केन्द्रका मतदान अधिकृत धुर्बराज न्यौंपानेका अनुसार फागुन २१ गतेको निर्वाचनको लागि लगभग सबै तयारी पुरा भइ सकेको छ ।
‘ यहाँ सबै तयारी पुरा भइ सक्यो,’ उनले भने ‘ अब बिहीबार हुने मतदानको मात्रै प्रतिक्षा भइ रहेको छ ।’ यो निर्वाचन केन्द्रमा कुल मतदाता एक हजार तीन सय ९९ जना छन् ।
दाङका तीन वटै निर्वाचन क्षेत्रमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भइ सकेको र अब मतदान हुने दिनको मात्रै प्रतिक्षा भइ रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराही दाङका प्रबक्ता गेहेन्द्र कँवरले बताए ।
दाङका दश वटै पालिकमा ५१ प्रकारका निर्वाचन सामाग्रीसहित सोमबार कर्मचारी खटाइएका थिए ।
जिल्लाका चार सय ५९ मतदान केन्द्रका लागि मतपेटीकासहित निर्वाचन सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएका थिए ।
दाङका तीन निर्वाचन क्षेत्रमा रहेका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा छ जना गरेर दुई हजार आठ सय ९८ जना कर्मचारी खटाइएका थिए ।
त्यस्तै निर्वाचन सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना गरि जिल्लामा कुल पाँच हजार ५ सय ११ जना सुरक्षाकर्मी खटाइएका छन् ।
कर्मचारीले खटाइएको ठाउँमा पुगेर सोही दिन बेलुकादेखि नै मतदान स्थल र केन्द्रको सरसफाई गर्ने, शिल गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र घोषणा गर्ने जस्ता कार्यहरु थालेका थिए ।
मंगलबारदेखि स्थानीय राजनीतिक दल सँग समन्वय बैठक गरेर मतदान केन्द्र निर्माणलगायतका काम धमाधम सुरु भएको थियो ।
जिल्ला भर कुल एक सय ५९ मतदान स्थल र चार सय ८२ वटा मतदान केन्द्र रहेका छन । ती मध्य १६ वटा मतदान केन्द्र अतिसंवेदनशिल, एक सय ३४ वटा संवेदनशील र नौ वटा सामान्य श्रेणीमा वर्गीकरण गरि सुरक्षा व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जानकारी दिए ।
जिल्लामा सबै भन्दा कम मतदाता दाङ निर्वाचन क्षेत्र नं. २ को आधारभूत बिद्यालय चाक्लिघाटमा जम्मा तीन सय ४२ मतदाता र सबैभन्दा बढी मतदाता यही निर्वाचन क्षेत्रको पदमोदय पब्लिक उच्चमाथि भरतपुरमा १० हजार ९ सय ६९ मतदाता रहेका छन् ।
फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा चार लाख ३१ हजार ६ सय ८६ जना मतदाताले मताधिकार पाएका छन् ।
