दाङ, पुस २४ । कर्णाली प्रदेश सरकारले तीन स्वास्थ्य संस्थालाई तीन करोड रकम प्रदान गरेको छ ।
बिगतमा रणनीतिक रुपमा डल्लो बजेट छुट्याइएको बजेट यतिखेर प्रदेश सरकारले बाँडफाँड गरेको हो ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले संघीय निर्वाचन क्षेत्रमा नपरेका स्वास्थ्य संस्थालाई अहिले आएर बजेट बाँडफाँड गरिएको बताए ।
उनका अनुसार सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई थप एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई थप एक करोड बजेट छुट्याइएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणका लागि ६० लाख रूपैयाँ सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न संघीय सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको मन्त्री शाहले बताए ।
मन्त्री परिषद बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णयपनि पनि गरेको शाहले जानकारी दिए ।
