२०८२ माघ २३ गते शुक्रवार

लुम्बिनीले जितेको एनपिएल ट्रफी तुलसीपुर ल्याउँदा छाएको उल्लास

तुलसीपुर, पुस ६ । तुलसीपुरको बीरेन्द्र चोक आइतबार दिउँसो साढे १२ बजेपछि एकाएक भिडभाड युक्त बन्यो । यातयातका साधनहरु ठप्प भए ।

सवारी जाम भएपछि ट्राफिकलाई ब्यबस्थापन गर्न हम्मेहम्मे परि रहेको थियो ।
पूर्व जानकारी नपाएकाहरु के भएको हो ? भनेर अलमलमा परे ।

बास्तबमा त्यो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण विजेता लुम्बिनी लायन्स ट्रफी टुरको शिलशिला थियो ।


आइतबार दाङको तुलसीपुरमा ट्रफी पर्दशनका लागि ल्याउँदा क्रिकेट प्रेमीहरु निकै उत्साहित थिए । तुलसीपुरमा उत्सव मनाए । ट्रफी ल्याउँदा खेल प्रेमी र तुलसीपुर बासीले सेलिब्रेसन गरे । हुटिङ गर्दै रमाए । त्यसैले गर्दा सडक जाम हुन पुगेको थियो ।

तुलसीपुरको बीरेन्द्र चोकमा ट्रफी पर्दशन गर्दा तुलसीपुर केही बेर रमायो । नाच्यो । केही बेरको ट्रफी पर्दशनीमा तुलसीपुरको यातायात ब्यबस्था ठप्प प्राय बन्यो । बीरेन्द्र चोक तुलसीपुर–घोराही र तुलसीपुर– सल्यान सडक खण्डको केन्द्र बिन्दु हो । तुलसीपुर बसपार्क जाने मुख्य सडक खण्डपनि त्यही हो । त्यही भएर ट्रफी पर्दशनीका क्रममा दिउँसो आधा घन्टा जसो यातायातका साधन ठप्प प्राय बनेका हुन ।


तुलसीपुरमा लुम्बिनी लायन्स ट्रफी टुरका क्रममा मस्कट संग तस्बिर खिचाउनेहरुलाई भ्याइ नभ्याई थियो । च्याम्पियनसिप लेखेको ब्यानर, भ्यानका अघि उभिएर तस्बिर खिचाउनेहरु पनि उत्तिकै थिए ।

मक्कटको समेत खादा माला लगाउँदै स्वागत भयो । होटेल वष्टर्न प्यालेसमा खाना खान गएको समयमा पनि ट्रफी टुरमा आएका अफियलदेखि मस्कट संग तस्बिर खिच्नेहरुले पच्छाइ रहेका थिए ।


फुटवलका खेलाडी तुलसीपुर उपमहानगरपालिका – १२ का युवा सुघम चौधरीले आँफुले फूटवल खेल्ने भएपनि एनपिएल बिजेता लुम्बिनी लाइन्सको अफिसियल टोली तुलसीपुर आउँदा निकै खुसी लागेको बताए ।

‘ पहिलो कुरा लुम्बिनीले ट्रफी जित्नु ठूलो सफलता हो,’ उनले भने ‘हामी खेलाडी सबै खेललाई उत्तिकै माया गर्नु पर्छ । ट्रफी तुलसीपुर आउँदा आँफैले खेलेर जिते जस्तै लाग्यो ।’


तुलसी उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीले आँफुले लुुम्बिनीका हरेक खेलहरु नछुटाइ हेरेको र तीन खेलमा पराजय भोगेपनि लक्की साबित हुँदै अन्तिममा लुम्बिनीले ट्रफी चुम्दा खुसीले नाचेको तथा गर्बले छाति फुलेको भन्दै खुसी भ्रमण टोलीका अफिसियल टिम संग साटि रहेका थिए ।


जितको खुसी बाँड्दै ट्रफी टुरमा तुलसीपुर आएको टिमलाई स्वागत पछि सम्बोधन गर्दै नेपाल तेक्वान्दो संघका लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालले लुम्बिनीले एनपिएल जितेपछि आँफू निकै उत्साहित भएको बताए ।

अनुशासित भएर, धैर्य गरी प्रयास जारी राखे सबै कुरा चुम्न सकिन्छ भन्ने उदाहरण एनपिएललाई मान्न सकिने उनले बताए ।

मुलुकमा निराशा ब्याप्त रहेको समयमा क्रिकेटले विश्वमै एउटा अमिट छाप छोप्न सफल भएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका रिजालले राजनीतिक दलका नेताहरुले पनि खेलकुद क्षेत्रको जस्तै धैर्यता, अनुशासन र लगनशिलता देखाएर नेपाललाई एउटा सफल राष्ट्रका रुपमा पुर्‍याउन सक्नु पर्ने बताएका थिए ।


कार्यक्रममा क्रिकेट संघ दाङका कार्यसमिति सदस्य रुपेश शर्माले ट्रफी टुरले साँच्ची नै दाङका फ्यानहरुलाई उत्साहित र रोमाञ्चित तुल्याएको बताए ।

लुुम्बिनी लाइन्सका फ्रेन्चाइज म्यानेजर गौरब फूँयालले १२ वटा जिल्ला मिलेर बनेको लुम्बिनीको साझा ट्रफी भएको हुँदा त्यो खुसी साट्न १५ दिन लामो ट्रफी टुरको आयोजना गरिएको बताए ।

लुुम्बिनीका हरेक मानिसहरुको प्रतिनिधत्व बोकेको हुँदा प्रेदश भएको हरेक संस्कृतिका मानिसले अपनत्व ग्रहण गर्न सकुन भनेर ट्रफी टुर गर्ने निर्णय भएको बताए । सबै लुम्बिनी बासी र फ्यानहरुलाई जोड्ने उदेश्यका साथ भ्रमण गरिएको उनले बताए ।

तीन महिनादेखि ब्यस्त हुनु तथा निकै ब्यस्तताका कारण ट्रफी टुरमा खेलाडी सहभागि थिएनन् । ट्रफी टुरका लागि बाँकेको नेपालगंज र बर्दियाको गुलरिया पुग्दा खेलाडीदेखि सर्वसाधारण नागरिक निकै उत्साहित भएको तथ्य आँफुले देखेको फूँयालले बताए ।

‘ हामी जहाँ पुग्यौं त्यहाँका मानिसहरुले यो हाम्रो ट्रफी हो भन्नु भयो एकदमै खुसीहरु साट्दा साह्रै गर्ब अनुभूति भयो,’ फूँयालले भने ‘हाम्रो उदेश्य खेलेको माध्यमबाट लुम्बिनीलाई एकताको सुत्रमा जोड्नु र आन्तरिक पर्यटन पर्बद्धन गर्नुपनि हो ।’

धेरै ठाउँका मानिसहरुले ट्रफी देख्दा आँफैले खेलेको र आँफैले जितेको अनुभूति भइ रहेको कुरा आँफूहरु संग साटेको भन्दै फूँयालले खुसी साटे । ‘ कति जना फ्यानहरु ट्रफी हेर्न पाउँदा खुसीले रुनुपनि भयो,’ उनले भने ‘ त्यो कुराले हामीलाई निकै छोएको छ ।’


ट्रफ टुर गराउने क्रममा तुलसीपुर आउँदा केही बेर मानिसहरुको भिडभाडका कारण ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बनेको सवालमा फूँयालले माफीपनि मागेका छन् । ‘हामी आउँदा आउँदै सडक यसरी भरिएको थियो कि हामीले त्यो नियन्त्रण गर्ने कुनै वातावरण नै थिएन । त्यही भएर पनि सर्वसाधारणले दुःख नपाउन भनेर पर्दशनी चाँडो सिध्याएका हौं ।’


दाङमा क्रिकेट प्रतिको यति ठूलो क्रेज देखेर आँफु आश्चर्यमा परेको उनको प्रतिक्रिया थियो । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व तर्फ लागेको सेलिब्रेसन टिमले पहाडी जिल्ला रोल्पा, प्यूठान, अर्घाखाँची लगाएका ठाउँहरुमा पनि यस्तै माया पाउने आशा गरेको छ ।

क्रिकेटमा नेपालले अन्तराष्ट्रिय स्तरमा पाइ रहेको सफलता पछि एनपिएलको ट्रफी लुम्बिनीले जित्दा आम लुम्बिनी बासीका खुसीहरु क्षितिज बनेको उनले बताए । भविश्यमा लुम्बिनी प्रतिको क्रेज थप चुलिने उनले अपेक्षा गरे ।

पुस ५ गते बाँके जिल्लाको नेपालगंजस्थित बागेश्वरी मन्दिरदेखि सुरु भएको ट्रफी सेलिब्रेसन टुर बर्दियाको गुलेरिया हुँदै भन्सागढीसम्म पुगेर फेरि फर्किएर बाँकेको कोहलपुर हुँदै पुस ६ गते दाङको तुलसीपुर र घोराहीमा आइ पुगेको हो ।

यो पर्दशन पुस ७ गते रुकुम पूर्वको रुकुमकोट हुँदै पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौर पुग्ने कार्यतालिका छ ।


प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *