तुलसीपुर , कात्तिक २८ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मंसिर ८ गते प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश मन्त्रि परिषद्को कार्तिक २४ गतेको निर्णय अनुरुप मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेका थिए । सोही अनुरुप प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा ९२० बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव धु्रवकुमार कुवँरले जानकारी दिए ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै दर्ता भइसकेका छन् ।
त्यस्तै दलित अधिकार सम्बन्धि विधेयक र थारुहरुको बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ ।
विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता गर्ने तयारीमा छन् । ती सबै हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछज । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

