दाङ, कात्तिक २७। आगामी निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड दाङमा बढ्दै गएको छ ।
निर्वाचन आयोगले तोकेको समय सिमा सकिन चार दिन मात्र बाँकी रहँदा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि प्रदेश निर्वाचन कार्यालय घोराहीमा नयाँ मतदाताको भीडभाड बढेको हो ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली संकलन अभियानअन्तर्गत हालसम्म दाङमा तीन हजार छ सय ७६ जना नयाँ मतदाता थपिएका छन् ।
उनका अनुसार बुधवार मात्र दाङमा छ सय २७ जनाको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो ।
पछिल्लो समय मतदाता नामावली दर्ताका लागि प्रचारप्रसारसँगै राजनीतिक संक्रिय हुँदा मतदाता नामावलीमा नाम दर्ताका लागि संख्या थपिने क्रम बढेको छ ।
कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता एवं अद्यावधिक कार्य चल्नेछ ।
