तुलसीपुर , कात्तिक २३ । दाङ तुलसीपुरमा अघिल्लो दिन केटोको घरमा गइ बसेकी एक किशोरी दोस्रो दिन मृत अवस्थामा फेला परेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका – १८ सातकुलेका १८ बर्षीय धुर्व नेपालीले तुलसीपुर – १९ सक्रामकी १४ बर्षीया रुपा परियार कात्तिक १३ गते भगाएर घरमा पुर्याएका थिए ।
कात्तिक १५ गते आफन्तले सातकुले पुगेर रुपालाई लिएर सक्राम फर्किएका थिए । सोही दिन दिउँसो ४ बजेतिर रुपा घरदेखि करिब दश मिटर उत्तर तर्फको क्रान्ति संग्राहलयको सौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन ।
रुपाकी दश बर्षीया बहिनी सृजनाले बेलुकी साढे ५ बजेतिर दिदी झुण्डिएको अवस्थामा देखेपछि घर परिवारलाई खबर गरेकी थिइन ।
त्यसपछि प्रहरी चौकी बिजौरी बाट प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार पारी शब पोष्टमार्टमका लागि राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठा घोराही पठाएको थियो ।
सोही दिन रुपाका आमा देउरता परियारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर धुर्वका बिरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दा दिएकी थिइन । इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही दिन राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानलाई पोष्ट मार्टमका पत्र पठाएको थियो ।
पोष्टमार्टम पछि कात्तिक १६ गते शब बुझेर संक्राम पुर्याएर घर परिवारले रुपाको अन्तेष्टि गरेका थिए ।
आमा देउरताका अनुसार पाँच दिन काज किरियाको कर्म पुरा गरेर उनीहरु बिहीबार मात्रै चोखीएका हुन ।
आमा देउरताका अनुसार उनकी छोरी रुपमा मावि संक्राममा कक्षा ६ मा अध्यनरत थिइन । छोरीले आँफु भ्रमण जाने भनेको हुँदा आमाले रोल्पा जाँदा पाँच सय रुपैयाँ दिएर गएको बताइन ।
‘हामी बुढा बुढी रोल्पाको रुन्टीगढीमा साँइलो भाइ केशरबहादुर परियार बितेको हुँदा शुद्ध शान्ति कार्यक्रममा आउ भनेको हुँदा गएका थियौं,’ देउरताले भनिन् ‘ छोरी रुपा पोइल गएको कुरा हामीलाई थाहाँ थिएन ।’
देउरताका अनुसार दिदीको छोरीसहित आफन्त गएर कात्तिक १५ गते बिहान रुपालाई धुर्वको घरबाट संक्रामस्थित घरमा ल्याएका थिए । सोही दिन रुपा तत्कालिन माओबादीका लडाकु बसेको सक्राम ब्यारेकको सौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन ।
इप्रका तुलसीपुरको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक विनोदराज केसीका अनुसार रुपाले मर्नु भन्दा पहिले लेखेको नोट फेला परेको छ । रुपाको कोठामा फेला परेको सुसाइड नोटमा धुर्व नेपालीलाई ‘कुनै पनि हालतमा नछोड्नु’ भन्ने आषय रहेको छ ।
आमा देउरताले पनि छोरी रुपाले आफ्नो बिहे गर्ने इच्छा नै नरहेको तर धुर्वकै कारण आफ्नो जीवन बर्बाद भएको भन्ने कुरा सुसाइट नोटमा रहेको भन्ने कुरा आँफुलाई अरुले भनेको बताइन ।
‘ त्यो केटा संग हाम्रो चिन जान नै थिएन,’ देउरताले भनिन् ‘ उस्ले गर्दा मेरो छोरीको जीवन बर्बाद भयो मेरो छोरीले न्याय पाउनु पर्छ ।’
प्रहरी निरीक्षक केसीका अनुसार आमा देउरताको जोहरी लगतै धुर्वलाई कात्तिक १६ गते नै पक्राउ गरिएको थियो । धुर्वका बिरुद्ध जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
धुर्ब बिरुद्ध जिल्ला अदालतबाट म्याद थप भइ थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ । केटा पक्षले भने रुपालाई आफन्तले खोसेर लगेको हुँदा उनले आत्महत्या गरेको भन्दै धुर्वको कुनै गल्ती नभएको भन्दै बचाउ गर्दै आएका छन् ।
