सुर्खेत,असार २६ । गत असार ३ गते हुम्लामा भएको जिप दुर्घटना परी वेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सीन्धु हमाल (शाही) को शव २२ दिनपछि बुधबार भेटिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार सर्केगार्ड गाउँपालिका– ४ नागरास्थित कर्णाली नदी किनारमा उनको शव फेला परेको हो । प्रहरीका अनुसार उपाध्यक्ष शाहीको औँठीबाट शवको पहिचान भएको हो।
उपाध्यक्षका श्रीमान धिरेन्द्र शाहीले हातको औँठीकै आधारमा शव पहिचान गरेको डिएसपी घर्तीमगरले जानकारी दिए । लु १ ज ७६ नम्बरको जिप दुर्घटन हुँदा वेपत्ता भएका चालक मणि शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाई,उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौ थानकोटका मिस्त्री राजु श्रेष्ठ लगायत दश जनाको अवस्था भने अझै अज्ञात रहेको छ ।
घटना भएको २४ घण्टापछि सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर टोलीले खोजेको थियो । तर कसैलाई भेटाउन सकेको थिएन । असार ५ गते आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । स्थानीय लोकजंग शाहीले हेलिकप्टरबाट त्यहाँ पु¥याएको एउटा मात्रै जिप दुर्घटनापछि उक्त सडक खण्डमा यातायात सेवा बन्द भएको जानकारी दिए । खार्पुनाथ गाउँपालिका ५ को बेणु बिसौना र कैलेबालुको बीच कर्णाली नदीमा जीप खसेको थियो । शव बुधबार नै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।