दाङ, भदौ १ । क्वाटर भित्रै मृत फेला परेका रूकुम पूर्वका कृषि विकास बैंकका शाखा प्रबन्धकको आइतबार पोष्टमार्टम हुने भएको छ ।
सल्यानको बागचौर नगरपालिका –८ घर भएका शाखा प्रबन्धक ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो वैंकको आफ्नै क्वाटर भित्र मृत फेला परेका थिए ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठानास्थित कृषि विकास बैंक शाखा कार्यलयको आफ्नो क्वाटर भित्र बेडमा शाखा प्रबन्धक गिरी मृत फेला परेका थिए ।
रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार आइतबार बिहान गिरीको शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइ रहेको छ ।
सल्यानबाट घर परिवारका सदस्य रुकुम पूर्व पुग्न समय लगाएका कारण शनिबार राति भएको थियो । ‘ हिजो सल्यानबाट आफन्त र परिवारका सदस्य आउन ढिला गर्नु भएको थियो,’ डिएसपी यादवले भने ‘ आफन्त आएपछि मात्रै शब उठाउने सल्लाह अनुसार हिजो राति भएको हुँदा आज बिहान शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।’
डिएसपी यादवका अनुसार परिवारका सदस्यले शाखा प्रबन्धक गिरी सुगर र प्रेसरको बिरामी रहेको तथा यसअघि पनि गिरीलाई समस्याहरु देखिने गरेको अबगत गराएका छन् ।
घर परिवार र प्रहरीले पनि प्रेसरले हानेर गिरीको मृत्यु भएको हुन सक्ने पूर्व अनुमान गरेपनि पोष्टमार्टम रिपोर्ट पछि तथ्य कुरा भन्न मिल्ने बताएका छन् ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठानास्थित कृषि विकास बैंक शाखा कार्यलयको क्वाटरमा बैंककै अरू तीन जना कर्मचारी पनि बस्दै आएका थिए ।
तर, उनीहरु कसैले पनि गिरीलाई समस्या भएको कुरा थाहाँ नभएको र दिउँसो तीन बजेतिर उठाउँदा खेरी नउठेपछि प्रहरीलाई खबर गरिएको बताएका छन् । प्रहरी दिउँसो ४ बजे पुगेको थियो ।
संगै बस्ने बैंकका अन्य कर्मचारी गिरी बिहान ११ बजेतिर नुहाएर सुतेको बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
