दाङ, साउन २६ । बैंकको २ करोड ८४ लाख पैंशा जुवामा लगाइ हिनामिना गरेको आरोपमा दार्चुलास्थित महालक्ष्मी बिकास बैंक शाखा कार्यालय गोकुलेश्वरका तत्कालिन शाखा प्रमुखसहित चार जना कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोकुलेश्वरका शाखा प्रबन्धक ३५ बर्षीय सागर शाही, कर्जा बिभागमा कार्यरत ३१ बर्षीय धनन्जय पन्त, नगद बिभागमा कार्यरत २९ बर्षीया निर्मला साउद र ग्राहक साहेता कक्षमा कार्यरत २८ बर्षीय अम्बादत्त पन्त छन् । महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका यि निलम्बित कर्मचारीहरु साउन २४ गते पक्राउ परेका हुन ।
दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
चार जनाले मिलेर बैंकको ‘संचिती रकम’ दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैंया हिनामिना गरेको जाहेरीमा उल्लेख छ ।
तत्कालिन शाखा प्रबन्धक शाहीसहितका कर्मचारीले बैंकको (भल्टमा राखिएको) इन्सोरेन्स लगाएतको निश्चित संचिती रकम हिनामिना गरेको बैंकले जाहेरीमा उल्लेख गरेको छ ।
पक्राउ परेका तत्कालिन शाखा प्रमुख शाहीसहित चार जनालाई तत्काल प्रहरीले बैंकिङ कसुर सम्बन्धि मुद्दा दायर गर्ने गरि अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।
जिल्ला अदालतले साउन २५ गते सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती प्रदान गरेको छ ।
महालक्ष्मी बैंकका सूचना अधिकारी अनुज आचार्यले बैंकको शाखाका केही निश्चित कर्मचारीको बदमासी गरेको बताए । प्रारम्भीक अनुसन्धानबाट ठूलो धनराषी तत्कालिन शाखा प्रमुख शाहीसहितका कर्मचारीले अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा लगाएको खुलेको आचार्यले जानकारी दिए ।
नेपालमा वान एक्स बेट बर्जित छ ।
