२०८२ कार्तिक २९ गते शनिवार

जलस्रोत तथा सिंचाइ कार्यालयबाट बितेको आर्थिक बर्षमा सतप्रतिसत काम

तुलसीपुर , साउन २१ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङले छनोट भएका योजना मध्य बितेको आर्थिक बर्षमा सतप्रतिसत काम गरेको बताएको छ ।

बुधबार तुलसीपुरस्थित होटेल वष्टर्न प्यालेसमा सार्वजनिक सुनवाइ गर्दै कार्यालय प्रमुख कृष्णबहादुर बिकले जल उत्पन्न प्रकोप न्यूनिकरण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ८७ वटा आयोजना संख्या रहेकोमा शतप्रतिशत सम्पन्न भएको बताएका हुन ।

सिँचाई आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्तर्गत १४७ वटा आयोजना रहेकोमा कार्यान्वयनमा १४५ वटा काम पुरा भएका छन् ।

मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिंचाई कार्यक्रममा ३२ आयोजनामा ३२ वटै सम्पन्न भएका छन । जलाशय निर्माण तथा पोखरी संरक्षण कार्यक्रम अन्तर्गत पाँचवटा योजना रहेकोमा शत प्रतिशत सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ ।


आर्थिक वर्ष २०८० /०८१ को अन्त्यसम्ममा ६५ दशमलव ४९ किलोमिटरमा नदी तथा खोलाहरुको कटान नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको कार्यालय प्रमुख बिकले बताए ।

खेतीयोग्य जमिन तथा वस्ती जोगाउन जिल्ला भर कार्यालयबाट हालसम्म ६५ किलोमिटर बढीको खोला तथा नदीमा तटबन्धन निर्माण गरिएको बिकले बताएका थिए ।

बितेको आर्थिक बर्षमा समेत तटबन्धन निर्माणपछि १२ हजार ३ सय हेक्टर जमिन सुरक्षित भएको तथा ३६ हेक्टर क्षेत्रफल जमिन नदी नियन्त्रणबाट उकास भएको तथ्याङ्क बिकले प्रस्तुत गरेका थिए ।

तटबन्धन निर्माणपछि जिल्लाका विभिन्न क्षेत्रका ७ हजार ८ सय घर सुरक्षित बनेको बिकले दाबी गरे ।

बितेको असार मसान्त सम्म सिँचाइ बाँध मुहान ११२ वटा, पक्की नहर र कुलो १४४ वटा, लिफ्ट सिंचाई ६७ वटा,पम्प हाउस ६७ वटा, पाइपलाइनिङ ५ दशमलब २ किलोमिटर, विद्युतीकरण ४५ वटा, ७६३२ हेक्टर क्षेत्रफलमा थप सिंचाई सुविधा र २४ हजार ८ सय ६३ एक हेक्टर क्षेत्रफलमा सिँचाई संरचना सुदृढीकरण भएको बिकले बताएका थिए ।

त्यस्तै चालु आर्थिक वर्ष २०८१ / ०८२ मा मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिँचाई बाँध मुहान ६ वटा निर्माण,पक्की नहर कुलो ५.५९ किलोमिटर,पम्प हाउस एकवटा, पाइपलाइनिङ २.९८ किलोमिटर र ३६३१ हेक्टर क्षेत्रफलमा सिचाई संरचना सुदृढीकरण गर्ने योजना रहेको जानकारी दिइएको छ ।

कार्यालयले सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तारतर्फ सिंचाई बाँध मुहान निर्माण १३ वटा, पक्की नहर कुलो १३.१३ किलोमिटर,पाइपलाइनिङ १.५४ किलोमिटर र ३ हजार ३६. ७० हेक्टर क्षेत्रफलमा सिंचाई संरचना सुदृढीकरण गरिएको जानकारी दिएको छ । जलाशय निर्माण तथा पोखरी संरक्षणतर्फ ५२.५० हेक्टर क्षेत्रफलमा संरचना सुदृढीकरण गरेको उल्लेख छ ।

वितेको आर्थिक वर्षमा चालुतर्फ १ करोड ५१ लाख २८ हजार र पुँजीगततर्फ ३२ करोड ७३ लाख गरी कुल ३४ करोड २४ लाख २८ हजार बजेट विनियोजन भएको थियो ।

चालुतर्फ १ करोड ३२ लाख ३५ हजार ३१९ र पुँजीगततर्फ ३१ करोड ८३ लाख ५६ हजार ६३६ गरी कुल ३३ करोड १५ लाख ९१ हजार ९५५ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

चालुतर्फ ८७.४९५ र पुँजीगत तर्फ ९७.२७५ गरी कुल ९२.३८५ खर्च भएको छ ।
कार्यालयमा गतवर्षको तुलनामा चालू वर्षमा करिब २ करोड रकम घटेको छ ।


चालु आर्थिक वर्षमा ३२ करोड बढी बजेट विनियोजन भएको छ । गत वर्षसम्म ५ लाख सम्मका टुक्रे योजनाहरू हुने हुँदा कार्यान्वयनमा समस्या भएकाले चालु आर्थिक वर्षदेखि त्यो समस्या हट्ने कार्यालय प्रमुख बिकको विश्वास छ ।

हाल १० लाखभन्दा माथिका योजनाहरू रहने हुँदा कार्यान्वयनमा सहजता आउने उनले बताएका थिए ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *