
रौतटह,असार २० । रौतहटमा एकजना बाबुले पैंशाको लालसाले गर्दा आफ्नै छोरीको हत्या गरेको तथ्य सार्वजनिक भएको छ । जिल्लाको मौलापुर नगरपालिका ६ पथरा बुधरामका रामकिशोर यादवले आफ्नै चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको जीवन बीमा गरेबापतको २५ लाख रुपैंया पाइने लोभमा हत्या गरेका प्रहरीले बताएको छ ।
रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको हत्या गरी शव पोखरीमा फालेका थिए। बालिका हराएपछि खोजी गर्दा नजिकैको पोखरीमा शव भेटिएको थियो।
रामकिशोरले बालिकालाई आमासँगै सुतिरहेको बेला उठाएर लगेको र पोखरीको छेउमा लगेर नाकमुख थुनी हत्या गरेको प्रहरी समक्ष बयान गरेका छन् । प्रहरीले शुक्रबार छोरीको हत्या अभियोगमा लालसी बाबुलाई पक्राउ पछि सार्वजनिक गरेको छ।
गत जेठ १९ गते यादवले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको लागि २५ लाखको बीमा गराएका थिए। एक महिनाभित्र बिमितको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने सुनेको आधारमा आफूले छोरीको हत्या गरेको यादवले प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले बताएको छ । यादव माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
