काठमाडौं, जेठ २२ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरे संगै उनको सांसद पद स्वतह निलम्बनमा परेको हो ।
अख्तियारले अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार राष्ट्रसेवकलाई भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वतह पद निलम्बनमा रहने व्यवस्था छ ।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा नेपाल प्रधानमन्त्री छँदा २०६६ सालमा किनबेच भएको थियो । नेपाल प्रधानमन्त्री छँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति प्रदान गरिएको थियो।
तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।
त्यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समय पहिला नेपाल संग बयान लिएको थियो ।
यही प्रकरणमा अध्यक्ष नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
जस्मा पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगाय छन् ।