घोराही, पुस २८ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सभापति पदका लागि आफू उम्मेदवार बन्ने संकेत गरेका छन् ।
नेपाली काँग्रेस दाङले घोराहीस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा आँफुसहित अन्य केही नेताहरुको पनि नाम चर्चामा रहेको बताएका थिए ।
उनले भने ‘म पनि लड्छु कि भन्ने छ, शेखर दाइपनि हुनुहुन्छ र गगन थापालगायत अरूको नामपनि चर्चामा छ।’
नेता कोइरालाले पार्टी सभापतिमा लड्छु भन्नेहरूलाई नीति तथा कार्यक्रम के हो ? भनेर सोध्न आग्रहपनि गरेका थिए ।
उनले आँफुले बिपी कोइरालाकै विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढोस भनेर काम गर्ने बताएका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार २०८२ मंसिरमा १५ औं महाधिवेशन हुनुपर्ने हो तर कांग्रेसले क्रियाशील सदस्यता नवीकरणलगायत काम तीव्रता दिन नसक्दा महाधिवेशनमा विलम्ब हुँदै आएको छ ।
फरक प्रसंगमा कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा केही उत्साह भए पनि बिस्तारै निराशा छाउँदै गएको बताएका थिए ।
पहिलेको उत्साह ६ महिनाको बीचमा निराशामा परिनत हुन थालेको हुँदा थप सच्चिएर काम गर्न जरुरी रहेको बताए ।
नेता कोइरालाले अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण मान्न सकिने बताए । उनले कांग्रेसका जिम्मेवार पदाधिकारी संसद्लाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बसेको आरोप लगाएका थिए ।