
श्रीराम दहित,
चाँदनीचोक, असार ८ । अमेलियमामा सडक बत्ति जडान गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा लमही नगरपालिका वडा नं. ९ वडा कार्यालयको विनियोजित २ लाख रुपैंयाबाट यहाँ सडक बत्ति बलेको हो । अमिलिया सडक बत्ति उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पौडेलले सडक बत्तिले सडक सुरक्षित हुने र स्थानीयलाई आवात जावातमा सुविधा हुने बताए ।
पौडेलले शनिवार बटन थिचेर सडक बत्तिको उद्घाटन गरेका हुन । अमिलिया क्षेत्रमा चोरी,तस्करी तथा जंगली जनावरको आतंक न्यूनिकरण गर्ने उद्देश्यले सडक बत्ति जडान गरिउको उपभोक्ता समितिका सचिब कृष्णकुमार थापाले बताए ।थोरै रकम बाट भएपनि हाल ईलाका प्रहरी कार्यालय अमिलियादेखि गायत्री टोलसम्म सडक बत्ति जडान गरिएको र भविस्यमा आसपासका सबै सडकमा सडक बत्ति जडान गर्न माग गरिएको सामुदायिक बन महासंघका जिल्ला सदस्य मनजित खड्काले बताए ।
अमिलिया युवा क्लबका सदस्य ओमप्रकाश थापा क्षेत्रीले विद्युत सेवा बिस्तार पछि केही समयको प्रतिक्षा पछि सडक बत्ति जडान भएको भन्दै खुसी साटे । ‘अमेलिया क्षेत्रमा विद्युत विस्तार भएको छोटो समयमै सडक बत्ति बलेको छ,’ क्षेत्रीले भने ‘पुर्व पश्चिम राजमार्गमा अवस्थित राप्ती लोक मार्गको प्रवेश द्वार र अमिलिया बजार त्यसले रातमापनि साँच्चिनै चाँदनी जस्तै जम्किन थालेको छ।’
सडक बत्तिको सदुपयोग र संरक्षण गर्न सकेमा उद्देश्य प्राप्ति हुने वडा अध्यक्ष भेषबहादुर केसीले तर्क गरे । उज्यालो वडा बनाउने आफ्नो लक्ष्य रहेको हुँदा आगामी आर्थिक वर्षमा बाँकी रहेको क्षेत्रमा समेत सडक बत्ति बिस्तार गरिने केसीले जानकारी दिए ।
