दाङ, पुस ८ । रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा सुरु गरेपछि स्थानिय नागरिक खुसी भएका छन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा सुरु गरेको थियो ।
अव सामान्य उपचारका लागि घोराही धाउनुपर्ने वाध्यता हट्ने स्थानियको आशा छ ।
स्वास्थ्य क्षेत्रमा पहुंच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर होलेरीमा विशेषज्ञसहित सेवा सुरु गरिएको हो । प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पामा पुस १ गतेदेखि लागु हुने गरी एमबिबीएस डाक्टर पठाएको हो ।
प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबीएसको पढाइ सुरु गर्न थालेपछि रोल्पाको होलेरीमा एमबिबिएस डाक्टर पठाएको र गाँउमै स्थानियले चिकित्सकवाट उपचार प्राप्त गरुन भन्ने उदेश्यले सेवा सुरु गरिएको प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थीले बताए ।
पएमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘कम्यूनिटी आउट रिच सेन्टर’को रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको हो।
गत असारदेखि होलेरी अस्पतालमा एमबिबीएस चिकित्सक उपलब्ध थिएनन् । जस्ले गर्दा विरामीले सामान्य उपचारका लागि पनि दाङ आउनु पर्ने बाध्यता थियो ।
हाल प्रतिष्ठानमा एमडिजिपीमा दुई जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन। ती मध्ये एक जनालाई निकट भविष्यमै रोल्पाका लागि खटाउने तयारी प्रतिष्ठानको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भए वमोजिम प्रतिष्ठानले चिकित्सकको ब्यवस्थापन गरेको हो । एमबीबीएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका स्थानीयले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए।
