घोराही, मंसिर २३ । तेस्रो दाङ जिल्लास्तरिय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता-२०८१’ को समापन गरिएको छ । घोराही तेक्वान्दो डोजाङको आयोजनामा दुई दिनसम्म चलेको प्रतियोगिताको एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको हो ।
घोराही तेक्वान्दो डोजाङका प्रमुख बिरुभाई बज्राचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा समापन गरिएको थियो ।
जिल्ला भित्र रहेका २१ डोजाङका ४ सय २५ खेलाडी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडीमा यस बुढाथोकी र महिला उत्कृष्ट खेलाडीतर्फ खुशी बुढामगर लाई सम्मान गरिएको हो ।
प्रतियोगितामा खेलाडीहरुले २२ केजी , २५ केजी, २८ केजी, ३१ केजी, ३४ केजी, ३७ केजी, ३९ केजी, ४२ केजी, ४५ केजी, ४८ केजी र ५१ केजी मुनि तौल समूहमा महिला र पुरुष खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथी पाण्डेले स्वास्थ्यसँगै आत्मसुरक्षाका लागि तेक्वान्दो खेल हरेक व्यक्तिका लागि अत्यन्त आवश्यक रहेको बताउनुभएको थियो । उहाँले दाङमा तेक्वान्दोको विकासका लागि आफ्नो वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
मंसिरको २१ र २२ गते दुई दिनसम्म चलेको प्रतियोगिताको निर्णायकमा रेफ्रि विमला भण्डारी र नेत्र थापाको नेतृत्वमा १६ जना रहेका थिए । प्रतियोगिता समापन कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी, बरिष्ठ उपाध्यक्ष तिलक झाक्रीमगर, विभिन्न डोजाङका प्रमुख र खेलाडीहरुको सहभागीता रहेको थियो ।
कुनैपनि विवाद विना शान्त वातावरणमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिति दाङका तेक्वान्दो प्रशिक्षक राकेश परियारले गर्नुभएको थियो ॥