डिआईजी सहित दाङका दुईजना प्रहरी अधिकारीको एकै साथ सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरी शर्मा र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाको एकैसाथ प्रहरी हेडक्वाटरमा सरुवा भएको हो । ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतको सरुवा भए लगतै दाङका दुई प्रहरी अधिकारीको सरुवा भएको छ ।
डिआईजी पाँच महिनामा, एसपी तीन महिना नपुग्दै सरुवा र डिएसपी सापकोटा भने ११ महिनामा सुरुवा भएका छन् । डिआईजी बस्नेतसहित दाङका प्रमुख स्थान तुलसीपुर र घोराही बाट दुई प्रहरी अधिकारी एकै साथ सरुवा भएपछि दाङमा यतिखेर त्यो चर्चाको विषय बनेको छ । धेरैले त्यसलाई दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको ‘दबाब’ को रुपमा अथ्र्याएका छन् । राजनीतिक पहुँचका आधारमा सिडियोले मनोमानी गरेको एकजना प्रहरी अधिकारीले बताए । कतिपयले सर्वसाधारणले पनि सामाजिक सञ्जालहरुमा त्यस्तै टिप्पनीहरु गरेका छन् । एकहप्ता दिन अगाडि डिआईजी बस्नेतको एयरपोर्टमा सरुवा भएपछि उनको स्थानमा डिआईजीको रुपमा पिताम्वर अधिकारी आएका छन् । प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा भएपछि उनको स्थानमा प्रहरी प्रधान कार्यालयले बेलबहादुर पाण्डेलाई दाङमा प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाउन लागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
त्यस्तै ईप्रका तुलसीपुरका प्रमुख डिएसपीको स्थानमा विरेन्द्र शाहीलाई पोष्टिङ गरिएको छ । डिएसपी सापकोटा तुलसीपुरमा गतसाल मंसिर २४ गते आएका थिए । लगभग वर्षदिनमा डिएसपी सरुवा हुने गर्छन । उनी ११ महिनामा सरुवा भए । ‘म त भोलि नै काठमान्डौं जाँदैछु आज मात्रै म तुलसीपुर बस्छु।’ डिएसपी सापकोटाले भने ।
देशमा अन्तकतै पनि प्रहरी अधिकारीको सरुवा नभएपनि ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुर बाट डिआईजी सहित घोराही र तुलसीपुर बाट दुबै प्रहरी प्रमुखलाई एकै साथ तानिए पछि जिल्लाबासी आश्चर्यमा परेका छन् । जे जस्तो कारणले सरुवा भएपनि प्रहरी अधिकृतहरुको एकै साथ सरुवा हुनुलाई धेरैले प्रहरी र प्रशासन बीचकै मनमुटावको रुपमा अथ्र्याउने गरेका छन् ।
केही दिन पहिले मात्रै सुरुवा भएर गएका जिल्ला प्रहरी प्रमुख शर्मा र एसपी श्रेष्ठका बीचमा घोराहीमा चलेको भनिएको जुवाको विषयलाई लिएर आरोप प्रत्यारोप छताछुल्ल भएको थियो । कुजाग्रत पूर्णिमाको रातमा घोराहीमा एक जना काँग्रेस नेताको घरमा जुवा चलेको भन्दै सिडियोले आफ्नो बडीगार्ड लगाएत अनुसन्धानका प्रमुखलाई रातभर घर घेरा हाल्न लगाएका थिए । तर त्यसपूर्व नै प्रहरी त्यहाँ पुगेर केही फेला नपारेको भन्दै फर्किएको थियो । सिडियोले खटाएका व्यक्तिले पनि त्यहाँ कुनै सवुत प्रमाण फेला पार्न सकेनन् । त्यसवाट पनि एसपी र सिडियोको बीचमा मनमुटाव थियो भन्ने कुरा छताछुल्ल भएको थियो । जिल्ला बाट सुरुवा भएर जान लागेका मध्य एकजना प्रहरी अधिकारीले सिडियो कै ‘भनसुन’ र ‘दबाब’ कारण आफुहरुको सरुवा भएको आरोप लगाए । ‘नेताहरुको प्यारो बन्न पक्राउ परेकाहरुलाई छोड्न दबाव दिने सिडियोको भनाई हामीले नमान्दा नेता र मन्त्रीलाई भनेर हाम्रो सरुवा गरिएको सत्य हो ।’ ती प्रहरी अधिकारीले भने ।
मेरो विरुद्ध प्रायोजित रुपमा गलत समाचार लेखियो – सिडियो
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने आफ्नो चरित्र हत्या गर्न प्रायोजित रुपमा गलत समाचार लेखिएको भन्दै रोष प्रकट गरेका छन् । ‘मेरो कोही संग कुनै रिसिवी छैन, मैले दबाव दिएको भन्ने कुरा सरासर झुट्टा हो । मेरो चरित्र हत्या गर्न प्रायोजित रुपमा त्यो लेखाइएको छ ।’ प्रजिअ श्रेष्ठले सेतोपाटीलाई फोनमा भने । आफु १५ गते नै तिहार मान्नलाई काठमान्डौं गएको बताएका प्रजिअ श्रेष्ठले कसैका विरुद्ध भनसुन गर्नको लागि काठमान्डौं गएको हो भन्नु आशंका मात्रै भएको बताए । ‘काठमान्डौं आन्दैमा भनसुन हुन्छ ? फेरि भनसुन गर्ने विषयबस्तु हुनुपर्छ कि पर्दैन र त्यो कुरा त म दाङबाटै फोनमै भन्न सकिहाल्थे नि,’– प्रजिअ श्रेष्ठले अगाडि भने ‘ के नेता र मन्त्रीहरु त्यति हलुका हुन्छन् ? कसैले भन्दैमा गरिहाल्छन्?’
उनले आफु दाङमा प्रजिअको रुपमा आएको १६ महिना पुगेको र यो बीचमा तीनवटा एसपीको सरुवा भएको हुँदा सरुवा भएपछि जो पनि जानुपर्छ भन्ने सामान्य मानिसले बुझ्ने कुरा भएको बताए । तर त्यसमा आफ्नो कुनै स्वार्थ र हात नरहेको उनले स्पष्ट पार्न चाहेका थिए । ‘ तपाँई त एउटा राम्रो पत्रकार हो नि, तपाँईलाई सबै थाहाँ छ नि प्रहरीबाट जुन किसिमका गतिविधिहरु भए त्यो सूचना नलेखेर दुनियाभरी गलत सूचना लेख्न लगाउनु प्रायोजित कुरा नै हो ।’ प्रजिअ श्रेष्ठले भने । उनले आफुले प्रहरीलाई कहिलै दवाव नदिएको दाबी मात्रै गरेनन् बरु गल्ति गर्ने आफ्नै मान्छेलाई समेत पक्राउ गरेर कारवाही गर्न आदेश दिएको दाबी गरे । ‘ मैले कानुन संग कहिलै खेलवाड गरिन,’– प्रजिअ श्रेष्ठले भने ‘ मात्रै मेरो मान्यता अनाहकमा कसैलाई दुःख दिनुहुन्न भन्ने नै हो ।’
अनुसन्धान ढिलाभए होवस तर कहिलै पनि निर्दोश मानिसले दुःख नपावस भन्ने कुरा मात्रै आफुले प्रहरी अधिकारीलाई संधै भन्ने गरेको प्रजिअ श्रेष्ठले बताए । ‘अनाहकमा मानिसलाई दुःख दिदा दाङमा पनि कञ्चनपुरको घटना दोहरी सक्छ, मैले प्रहरीलाई यस्तै कुरा मात्रै भन्ने गर्दथे ।’ प्रजिअ श्रेष्ठले भने । श्रेष्ठ १७ महिना अघि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट राजनीतिक पहुँचका आधारमा सीधै गृह मन्त्रालयमा सरुवा भएकको बताइन्छ । त्यसपछि दाङको प्रमुख जिल्ला अधिकारी बनेका श्रेष्ठ यसअघि कहिल्यै गृह मन्त्रालय बसेको रेकर्ड नरहेको स्रोतले जानकारी दिएको छ । उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माले दाङको सिडिओ बनाएर पठाएका थिए । तर, त्यो कुरा भने प्रजिअ श्रेष्ठले आक्रोस पोखे । ‘ के म दाङमा योग्यता नपुगेर राजनीतिक पहुँचका आधारमा पुगेको हो र ? यस्ता वाइह्यात र फाल्तुकुरा पनि लेख्ने हो । त्यो प्रायोजित समाचार नभइ के हो त ?’ प्रजिले प्रश्न गर्दै भने । प्रजिअ श्रेष्ठले सरुवा भएर गएका डिआईजी, एसपी र डिएसपी संग आफ्नो कुनै विवाद र मनमुटाव नरहेको स्पष्ट पार्न खोजेका थिए ।