
सल्यान, २९ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष विद्यालयका समस्या खोज्दै हिडेका छन् ।गाउँपालिका अध्यक्ष भिमबहादुुर सेन वडाका विद्यालयमा पुगेर समस्या सोध्दै र खोज्दै हिडेका छन् । उनले बुधबार रोल्पाको सीमानामा पर्ने जनचेतना आधारभुत विद्यालयसहित ४ वटा विद्यालयमा पुगेर समस्या वारे सोधी खोजी गरेका थिए ।
जनचेतना आधारधुत विद्यालय कपुरकोट १ लामपोखराका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर सुनारले भौतिक पूर्वाधार, फनिचर, खानेपानीको प्रवन्ध भएपनि अझैं थप व्यवस्थित गराउन आवश्यक रहेको बताएका थिए । जवाफमा गाउँपालिकाका अध्यक्ष सेनले तत्कालै गर्न सकिने समस्या हल गरेर ठूला योजनाहरु पुरागर्न गुरु योजना बनाएर अगाडि बढ्ने आश्वासन दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक अमरबहादुर विकले स्कुल परिसरमा तारवार, कक्षा कोठामा ह्वाइट बोर्ड जस्ता कुराहरु आवश्यक रहेको जानकारी दिए । विरेन्द्र मावि गर्पामा सहायक प्रधानाध्यापक दुर्गा बस्नेतले आफ्नो विद्यालयमा विज्ञान प्रयोगशालामा सामग्री अभाव, पुस्तकालय ब्यवस्थापन, कम्प्युटरहरुको अवस्था नाजुक रहेको जस्ता समस्या रहेको अवगत गराएका थिए ।
अध्यक्ष सेनले गैरीवाङको दहवन आधारभुत विद्यालय, सारपानीको शिवोदय आधारभुत विद्यालय र कपुरकोट २ गर्पास्थित विरेन्द्र माध्यामिक विद्यालयमा पुगेर त्यहाँका समस्याको वारेमा सोधपुछ गरेका छन् ।
अध्यक्ष सेनले त्यसक्रममा विद्यालयका कक्षा कोठामा पुगेर विद्यार्थी संग शिक्षकले गर्ने ब्यवहारदेखि दिवा खाजाको अवस्था र शिक्षक हाजिरी समेत निरिक्षण गरे ।
उनले शिक्षकलाई कर्तव्य निष्ठ भएर अध्यापन गर्न आग्रह गरेका छन् । नियमित विद्यालयमा उपस्थित हुन,पोषाक अनिवार्य लगाउन र कुनै पनि शिक्षक विदामा बस्नुपर्दा अग्रिम जानकारी दिए आग्रह गरे ।
विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण
कपुरकोट गाउँपालिकाले जनचेतना आधारभुत विद्यालय लामपोखराका तीन वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय पहुँच भन्दा वाहिर रहेका तीन वालवालिकालाई विद्यालय भर्ना गरिएको र विपन्न घरपरिवारका ती वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षा शाखाले जानकारी दिएको छ । कक्षा १ मा अध्यनरत अस्मिता खड्का, नविन घर्ती र दिपेश घर्तीलाई जनही एक थान ब्याग, तीन÷ तीन दर्जन कापी र कलम वितरण गरिएको छ ।
