बुटवल, भदौ ११ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधिन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गरेका छन । सुरुङ मार्गको स्थलग निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिएका हुन ।
यो सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग हो । चाँडै निर्माणको काम पुरा भए नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे ।
त्यस्तै सभामुख तुलाराम घर्ती मगरले मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशे ढुंगा सावित हुने तर्क गरे ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा काम भइरहेको छ । अवको तीन महिना भित्रै सुरुङको ‘ब्रेक थ्रु’ हुने अपेक्षा गरिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका ईञ्जिनियर सविता ज्ञवालीले बताइन ।
यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । सडक खण्ड अन्तरगत मुख्य सुरुङको लम्बाइ एक हजार एक सय २६ मिटर छ ।
योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट नौं सय दश मिटर र पाल्पातर्फ पाँच सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि हुने छ । यो खण्डको चार किलोमिटर पहिरो आउने मुख्य क्षेत्रभित्र पर्छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत छेउमा निस्कन मिल्ने निर्माण भइ रहेको हो ।
सुरुङको बीचमा आपत्कालिन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छन । सुरुङ भित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजको मात्र दूरी चार सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने एक हजार पाँच सय ६७ मिटर छ ।
यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोर दोहोर गर्छन । पाँच वर्ष भित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा काम सकारेको थियो ।