दाङ, जेठ २३ । सल्यानमा करेन्ट लागेर महिलोका मृत्यु भएपछि पाँच लाख क्षतिपुर्ती दिने सहमति भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ बर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएपछि विद्युत प्राधिकरण सल्यानले प्रचलित नियम अनुसार ५ लाख दिने सहमति भएको छ । उक्त सहमति पछि मात्रै आफन्तले शब उठाउन मानेका थिए ।
ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरिक्षक लिलाभक्त बादेले सोमवार विहान घाँस काट्न भनि गएकी वलीको खेतमा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको बताए । शव फेला परेको स्थानमा नाङ्गो तार भुईसम्म लत्तिएको अवस्थामा फेला परेको स्थानीले बताएका छन् । वलीको विद्युत कार्यालयको कमजोरीका कारण करेन्ट लागेर मृत्यु भएको हुँदा क्षतिपुर्ती नपाउँदा सम्म शव नउठाउने मृतकका आफन्तले अडान लिएका थिए ।
त्यसपछि विद्युत प्राधिकरण र पीडित पक्षका बीचमा छलफल हुँदा पाँच लाख रुपैंया क्षतिपुर्ती बाफत उपलब्ध गराउने सहमति भएको थियो । त्यसपछि मात्रै स्थानीयले शव उठाउन दिएका थिए । मृतको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खलंगा तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।